काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको स्रोतले बताएको छ । बिहीबार कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम नगर्ने बताएको छ । यस्तै, पार्टीको केन्द्रीय कार्यालयसमेत बन्द हुनेछ । सामाजिक एवं ग्रामीण विकासमा सक्रिय, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्त्यालको बाँसबारीस्थित शहिद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा ६३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन् ।








