खै कहाँबाट सुरु गरूँ ??
आफ्नै जीवनका अव्यक्त हृदयविदारक कथा
वर्षौंवर्षदेखि मनमनै गुम्सिएका आलै जस्ता लाग्ने
अबोध बालापनका ती अनमोल र चोखा कथा
लाखौंलाख पटक बिर्सन कोशिस गर्दापनि
झनझन गाढा बनेका आत्मसम्मानका रक्षार्थमै
भोगिएका अकल्पनीय संघर्षका कथा
जीवन संघर्षका कथा।
सिन्दुरको अर्थ नबुझ्दै भरिएका सिंउदोका कथा
बाबुकै जस्तो उमेर देखिने
लोग्ने उपाधिधारीले
लुटिदिएको अस्मिता
अनि क्षतविक्षत शरीरमा
अबोध बालह्रदयले खोजिरहेको
आमाको न्यानो काखको कथा
भाँडाकुटी खेल्दा सानी पुतलीलाई
आफनै हातले लगाइदिएका गुन्युचोलीका कथा
जीवन संघर्षका कथा।
आफूभन्दा दोब्बर उमेरका
वर्षौटेजस्ता देखिनेहरूलाई
छोराछोरी भनाउन बाध्य पारिइएका कथा
आफू आमा हुनुभन्दा निकै पहिला
हजुरआमा बनाइएका अपत्यारिला
तर सत्य कथा
मजस्तै भित्रभित्रै पिल्सिएका
त्रसित आँखाहरुका कथा
सम्पूर्ण मातृहृदयका कतै नलेखिएका कथा
जीवन संघर्षका कथा।
चुडिएको मनलाई पटकपटक
सिलाउन खोज्दा खोज्दै
त्रासदीले कामिरहेका हातहरुको कथा
धर्म, संस्कार अनि सामाजिक विभेदविरुद्ध
उठाउँन खोजिएका आवाजलाई जरैदेखि निर्मूल पार्न
पर्दाभित्र रचिएका कुटिल नाटकका कथा
कसैका नाम पारेर आफ्नै गलामा भिराइएको
पासोजस्तै लाग्ने विभिन्न नामका रंगीन बन्धनलाई
सदाका लागि टुक्राटुक्रा पारी
धर्मका निहुँमा लादिएका
कुसंस्कारका विरोधमा
भित्रभित्रै दन्किरहेको ज्बालामुखी बोकेर
स्वाभिमानको जगेर्नार्थ प्रयासरत् भावनामा
प्रतिरोधमा थोपरिएका
अतिरन्जित पराकास्ठाका कथा
जीवन संघर्षका कथा।
म म नै भएर मेरै अस्तित्बमा
बाँच्ने अभिलाशामा
त्यो कुरुप अन्धकारभित्रको
असुन्दर संरचना तोड्न
परिवर्तनका विरोधमा
बनाइएका लागामहरु चुँडाल्न
पितृ संरचनाका
पासविक जालोबाट मुक्त हुन
एक सुन्दर नयाँ बिहानी जन्माउने अभिलाशामा
तय गरिएको अनिश्चित यात्राका लागि
अनवरत बढिरहेका कदमका कथा
जीवन संघर्षका कथा।
जीवन संघर्षका कथा।








