चितवन । बिदेशी पर्यटक आउन थाले पछि कोभिडका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र पूर्बबत अबस्थामा फर्कने अनुमान गरिएको छ । गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रमले ठूला होटलहरु भरिन थालेका छन् । लामो समय पछि यूरोपियन पर्यटकहरु आउन सुरु गरेका हुन । भारतीय पर्यटकको बुकिङ् पनि राम्रो छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराई बिगतका बर्षहरुमा बर्षात अघि सम्म यो बेला ९० प्रतिशत सम्म होटलका कोठाहरु बुकिङ हुने गरेको स्मरण गर्नुहुन्छ ।
यस वर्ष १५ प्रतिशत हाराहारी कोठाहरु भरिन थालेका छन् । ठूला होटलमा सभा, सम्मेलन बुकिङ हुन थालेका हुन । बिगतलाई सम्झदै उहाँले भन्नुभयो “यतीवेला चिनिया ५० प्रतिशत हुने गर्दथे । कूल ८० प्रतिशत बिदेशी हुन्थे ।” अहिले बिदेशी आउन थाले भन्दा पनि खुशि हुनु परेको उहाँले बताउनुभयो । पर्यटकहरुको सोधपुछ निकै बढेको भट्टराईको भनाई छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मन, हल्याण्ड, इजरायल लगाएतका देशका पर्यटक आउन थालेका हुन ।
ट्रेकिङका लागि नेपाल आएका उनीहरु सौराहा घुम्न आएको उहाँको भनाई छ । सोधपुच्छ निके वढेकाले आउने अक्टोबरबाट पर्यटकीय क्षेत्र पूर्बबत अबस्थामा फर्कने घिमिरेका अनुमान रहेको छ । क्षेत्रीय होटल संघ चितवनका निवतृमान अध्यक्ष समेत रहनु भएका घिमिरेको भनाईमा सन् २०२३ मा नेपालमा पर्यटकको आगमन निकै राम्रो हुने अनुमान रहेको छ । सामुदायीक वनहरुमा हात्ती चढ्न बिदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएको यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विदेशीहरु हात्ती चढ्न आउन थालेको बताउनुभयो । सहकारी अन्तर्गत ३१ वटा हात्ती रहेका छन् ।
ती मध्ये २० देखि २५ वटाले दैनिक काम पाउन थालेका छन् । नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उहाँको भनाई छ । बाघमारा मध्यवर्ती सामुदायीक वनमा पर्यटकका लागि मचानमा बस्ने सुबिधा संगै हात्ती र ढुङ्गा सफारीको व्यवस्था रहेको छ । समितिका अध्यक्ष जीतवहादुर तामाङ्ले बिदेशी पर्यटकहरु आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो “पर्यटक आउन थालेपछि हामीलाई उत्साह थपिएको छ ।” व्यवसायीहरु अब पर्यटन क्षेत्र पूर्बबत अबस्थामा फर्कने अपेक्षामा रहेको उहाँको भनाई छ ।
सौराहाका कतिपय होटलले स्वदेशीहरुको सभा सम्मेलन राम्रो हुन थालेको बताएका छन् । होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबारका लागि कार्यक्रम लिन नसकेको बताउनुभयो । उहाँको भनाईमा धेरै कार्यक्रम जुधेका कारण व्यवस्थापनमा कठिन भएको छ । कोभिडका कारण रोकीएका कार्यक्रम हुन थालेका हुन । सौराहामा पर्यटकहरु मुख्य रुपमा घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलन संगै बिबहाका लागि यहाँ आउने गर्दछन् ।
धेरै संख्यामा कम मूल्य देखि महंगा कोठाहरु आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा रोजाई हुने गरेको छ । ठूला संघ संस्थाले देशको मध्यभाग पर्ने भएकाले यहाँ तालिम, सभा सम्मेलन गर्ने गर्दछन् । मुख्यरुपमा भारतीयहरु बिबहाका लागि आउने गर्दछन् । दुईवटा होटलमा दुलाहा दुलहीको परिवार राखेर बिबहा गर्ने गर्दछन् । ती प्रयोजनका लागि आउनेहरु पर्यटकीय गतिबिधिमा समेत रमाउन पाउने हुँदा सौराहा रोजाई हुने गरेको होटल व्यवसायी माधब दुवाडीले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र दुर्लभ बन्यजन्तु हेर्न र यहाँका संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहामा एक सय २० होटल रहेका छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षहरुमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् ।








