नारायणगढ । नारायणगढको नारायणी किनारस्थित गौरेश्वर पशुपति मन्दिरले रजत महोत्सव मनाउने भएको छ । स्थापनाको २८ औं वर्ष पार गरिसकेको मन्दिरले फागुन १६ र १७ गते रजत महोत्सव मनाउने भएको हो । रजत महोत्सवको गलेश्वर आश्रम देवघाटधामका पिठाधिस अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले उद्घाटन गर्नेछन् ।
रजत महोत्सवको अवसरमा १६ गते बिहान ७:३० बजे शोभायात्रा निकालिनेछ । यस्तै सोही दिन बिहान ११:३० बजे कार्यक्रमको उद्घाटन गरिने तथा १२ बजे स्मारिका बिमोचन र १ बजे दाताहरुलाई सम्मान कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सूर्य कुमार प्रकाण्ड पियाले जानकारी दिए । १७ गते बिहान ६ बजेदेखि शिव पूजन तथा अर्चना तथा दिउँसो ४ बजे रजत महोत्सव समापन गरिने उनले बताए । यसैबीच रजत महोत्सवको अवसर पारेर रजतद्धार उद्घाटन गरिने उनले जानकारी दिए ।
उक्त प्रवेशद्धार स्थानीय बलराम जोशीले साँढे पाँच लाखमा निर्माण गरेका हुन् । यस्तै सोही दिन रजत स्तम्भ पनि उद्घाट्न गरिनेछ । रजत महोत्सवको अवसरमा देवघाट क्षेत्र बिकास समितिले प्रवेशद्धारा हुँदै नदी किनार जाने सिढी मर्मत गरेको छ । २०५० सालमा नदीतटको संरक्षणका लागि स्थानीय सूर्यकुमार प्रकाण्ड पिया र उनकी श्रीमती चिनीदेवी पियाले निजी लगानीमा उक्त मन्दिर निर्माण गरेका थिए ।








