चितवन । अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा ८ राजनीतिक दलले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको बिहानैबाट चितवनसहित देशभर सामान्य प्रभाव परेको छ । बन्दका कारण चितवन हुँदै चल्ने लामो दुरीका सवारी साधनहरु आज चल्न सकेका छन् । छोटो दुरीका सवारी साधन भने चलेका छन् ।
यस्तै बजार पनि सामान्य रुपमा खुलेका छन् । बन्दमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले बिहानैदेखि बजार क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । चोक-चोकमा प्रहरी तैनाथ गरिएको छ । प्रहरीले आज बिहानैबाट बन्द गराउँदै हिंड्ने चार जनालाई नियन्त्रणमा लिएको छ । नारायणगढको लायान्सचोकबाट उनीहरुलाई नियन्त्रणमा लिईएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए । उनीहरुलाई लायन्सचोकमा पसल बन्द गराउँदै हिंडेको अवस्थामा नियन्त्रणमा लिईएको डिएसपी अधिकारीले बताए ।
उनीहरुलाई बेलुकासम्म छोड्न सकिने उनले बताए । यसैबीच बन्दकर्ताहरुले चितवनमा तीन वटा सवारी साधनमा क्षती पुराएका छन् । उनीहरुले दुई वटा मालबाहक ट्रक र एउटा पिकअप भ्यानमा आगाजनीको र तोडफोडको प्रयास गरेको उनले बताए । आज दिउँसो भरतपुर ओरालोस्थित भाटभटेनी अगाडि ना ४ ख ४३२५ नम्बरको ट्रकमा आगजनीको प्रयास गरेकोक उनले जानकारी दिए । चौबिसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको उक्त ट्रकको अगाडिको सिसामा क्षती पुगेको छ ।
यस्तै भरतपुर ७ बुद्धचोकमा प्रदेश ३-०१०२ च ३६८४ नम्बरको शक्तिश्वरी कृषि फार्मको पिक अप भ्यानमा पनि बन्दकर्ताहरुले आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ । उक्त भ्यानमा पनि सामान्य क्षती पुगेको छ । प्रहरीका अनुसार रामपुरमा पनि एउटा ट्रकमा बन्दकर्ताहरुले आगजनीको प्रयाससँगै तोडफोड गरेका छन् ।
चौबिसकोठीबाट रामपुरतर्फ जाँदै गरेको ट्रकमा बन्दकर्ता आगजनी र तोडफोडको प्रयास गर्दा अगाडिको सिसामा सामान्य क्षती पुगेको छ । यस बाहेक अहिलेसम्म अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।








