चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन १९ र २० गते हुने भएको छ । कांग्रेस चितवन कार्यसमितिले १९ र २० गते अधिवेशन गर्न निर्वाचन समितिलाई सिफारिस गरेको थियो । सोही अनुसार १९ गते मनोन्यन दर्ता र २० गते मतदान हुने भएको हो ।
अधिवेशन नारायणी कला मन्दिरमा हुने काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । १९ गते बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका रहेको छ । सोही दिन बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ताको लागि समय छुट्टाईएको निर्वाचन समिति संयोजक ज्ञानेन्द्रबहादुर अधिकारीले जानकारी दिए ।
यस्तै दिउँसो १:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिउँसो १:३० देखि २ बजेसम्म दाबी विरोधका लागि समय छुट्टाईएको अधिकारीले बताए । दिउँसो ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । २० गते बिहान ९ बजेदेखि ५ बजेसम्म मतदानको कार्यक्रम रहेको उनले जानकारी दिए ।
कांग्रेस चितवनको अधिवेशन बारम्बार स्थगित हुँदै गाएको छ । पछिल्लो पटक फागुन २४ र १५ गते हुने भनिएको अधिवेशन एमसीसीलाई कारण देखाउँदै स्थगित भएको थियो ।









