चितवन । पेशाले डेन्टल कन्सल्टेन्ट डा. बासुराज पाण्डेले बिहीबार नेपाली काँग्रेस चितवनको १४औँ जिल्ला अधिवेशनमा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै उनले फूलटाइम राजनीतिको अन्त्य हुनुपर्ने बताए ।
‘अब पेशा र राजनीति सँगसँगै अगाडि बढाउनु पर्छ’ उनले भने, ‘त्यसका लागि फूलटाइम राजनीतिको अन्त्य हुनुपर्छ ।’ फूलटाइम राजनीति गर्नेहरुले गुजाराको लागि पनि बेइमानी बन्नुपर्ने अवस्था आउने बताउँदै डा। पाण्डेले भने, ‘हिजोको दिनमा फूलटाइम राजनीति आवश्यक थियो होला । अबको समयमा त्यस्तो छैन ।
हामीले आफ्नो पेशामा सक्रिय भएर पनि राजनीतिमा आउन सक्छौँ । हरेक पेशा, व्यवसायमा सफल व्यक्ति राजनीतिमा आउनु पर्छ ।’ समाजसेवाका लागि राजनीतिमा आउन खोजेका उनी नेपाल मेडिकल एसोसिएसनको सदस्य र नेपाल डेन्टल एसोसिएसन चितवन शाखाको अध्यक्ष हुन् ।
२०६२ सालदेखि आफू नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेको उनले जानकारी दिए । ‘राजनीतिबाट पैसा कमाउने वा कंगाल हुने परिपाटीको अन्त्य हुनुपर्छ’ उनी भन्छन्, ‘अरु पेशाको व्यक्ति राजनीतिमा आएर आफ्नो पेशा छाड्न हुँदैन । काम गरौँ, राजनीति पनि गरौँ ।’








