तनहुँ । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा आज (आइतबार) बिहान १० बजे भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले उज्यालोलाई जानकारी दिए ।
आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।
आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ । यस्तै, आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको उनले जानकारी दिए ।








