चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय तहको निर्वाचनमा जिल्लामा कांग्रेस एक्लै लड्ने बताएका छन् । केन्द्रमा गठबन्धनको चर्चा चलिरहेको बेला जिल्ला खनालले कांग्रेस चितवन एकल निर्वाचनमा जाने बताएका हुन् । उनले कांग्रेस चितवन एकल निर्वाचनमा जाने संस्थागत निर्णय गरेर केन्द्रीय समितिसँग समन्वय गर्ने समेत बताएका छन् ।
‘यो पटक नेपाली कांग्रेस चितवन एकल निर्वाचनमा जान्छ, उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु हामी एकल निर्वाचनमा जान्छौं । सँगसँगै त्यसको संस्थागत निर्णय गरेर हामी केन्द्रीय समितिसँग समन्वय गर्छौं ।’ सरकार गठबन्धनमा बनेकोले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको कुरा उठ्नुलाई आफुले स्वभाविक रुपमा लिएको उनको भनाइ छ ।
‘हाम्रो सभापति प्रधानमन्त्री बन्नु उहाँको रहर भन्दा पनि मुलुकको आवश्यकता र वाध्यात्मक अवस्था हो । गठबन्धनमा जोडिएका दलहरुसँग स्थानीय तहमा पनि गठबन्धन गरिदिए हुन्थ्यो भन्नु स्वभाविक हो, उनले भने, ‘२०५६ सालमा पनि एमालेको गठबन्धनमा सरकार बनेको थियो र निर्वाचनमा हामी एकल प्रतिस्पर्धामा गएका थियौं ।
सँगै गठबन्धनमा बस्दैमा स्थानीय तहसम्म गठबन्धन नै गर्नुपर्छ भन्ने जरुरी छैन ।’ स्थानीय निर्वाचनमा स्थानीय तहमा हुने सहमतिले महत्वपूर्ण निर्णय राख्ने उनको भनाइ छ । केही दिनमा यस बिषयमा निष्कर्षमा पुग्ने समेत उनले बताएका छन् ।








