चितवन । स्थानीय सरकारले निर्माण गरेका संरचनाहरु प्रयोग गरेर त्यहि ठाउँका नागरिकका अघि स्थानीय सरकारले केही गरेन भन्दै नागरिकलाई ढाट्ने काम नगर्न इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले आग्रह गरेका छन्। सोमबार इच्छाकामना गाउँपालिका ३ स्थित माझगाउँमा नेपाली काँग्रेसले आयोजना गरेको एक भेलालाई सम्बोन्धन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
‘हामी आएपछि स्थानीय सरकारले थुप्रै काम गरेका छौं, कसैले स्थानीय सरकारले केही गरेको छैन भन्दैमा हामीले गरेका कामहरु छोपिने हैन’ –उनले भने। चुनावी अभियानको क्रममा गाउँमा आएर विपक्षी पार्टीका कार्यकर्ताहरुले नागरिकहरु सामु आफुहरुको सामु भ्रम छर्ने काम भएको भन्दै उनले आपत्ती जनाए।
यस्तै ५ वर्षमा नेपाली काँग्रेस नेतृत्वको स्थानीय सरकारले इच्छाकामनाको ९५ प्रतिशत गाउँहरुलाई सडक सञ्जालसँग जोडिएको, गाउँगाउँमा नागरिकलाई स्वास्थ्यको पहुचमा पुर्याएको लगायत, घरघरमा खानेपानीको धारा पुर्याएको लगायत थुप्रै कामहरु गरेको र अझै केहि योजनाहरु अपूरै रहेकोले त्यो पूरा गर्नको लागि आगामी ५ वर्षको लागि पुनः नेपाली काँग्रेसको उम्मेद्वारलाई भोट दिन आग्रह गरे।
यसैगरी उक्त भेलालाई सम्बोन्धन गर्दै नेपाली काँग्रेस इच्छाकामनाका सभापति एवं गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले विपक्षीले गाउँगाउँमा छरेका भ्रमहरुलाई चिर्दै नेपाली काँग्रेसले गरेका राम्रा कामहरुलाई प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए। भेलामा माओवादी केन्द्र र एमाले छोडेका दर्जनौ व्यक्तिहरुलाई पनि पार्टी प्रवेश गराईएको थियो भने भेलामा गाउँपालिका प्रवक्ता सावित्री गुरुङ जिल्ला सदस्य एवं वडा नं. ३ का काँग्रेस अभियान प्रतिनिधि इन्द्रमाया लामा, काँग्रेस प्रदेश क समिति सचिव कुम बहादुर गुरुङ, काँग्रेस इच्छाकामना सचिव हिरा गुरुङ लगायतको उपस्थिति रहेको थियो।









