चितवन । चितवनमा कंकाल सहित दुईवटा हतियार फेला परेको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ धमौरामा दुईवटा साना हतियार फेला परेको हो । खानेपानीको पाइप विस्तारको लागि खन्ने क्रममा प्लाष्टिकमा बेरिएको अवस्थामा दुईवटा भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
खाल्डो खन्ने क्रममा राज आलेले एउटा खप्पर र दुईवटा हतियार फेला पारेका थिए । चर्च अगाडी खन्ने क्रममा हतियार र कंंकाल फेला परेको प्रहरीले जनाएको छ । घटनास्थललाई सिल गरेर त्यस वरपर खनेर हेरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक राजिव गिरीले जानकारी दिए ।
हतियार हेर्दा धेरै पुरानो घरेलु हतियार जस्तो देखिएको र घटनाको बिषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । फेला परेको कंकाल मानवको नभएको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।








