चितवन । सातवटै प्रदेश प्रमुखहरुको बैठकले पिछडीएका लोपन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सौराहामा सम्पन्न बैठकले सिमान्तकृत, पिछडीएका, लोपन्मुख समुदायको पहिचान, संरक्षण, सम्बर्धन र विकास लगाएतका काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको बैठकमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरु, कार्यालय सचिवहरु र नीजि सचिवहरुको सहभागिता रहेको थियो ।
बागमती प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी इन्दिरा पौडेलले प्रदेश सरकारले लोपोन्मुख समुदायको पहिचान तथा खोजी गरी नीति तथा कार्यक्रम, योजना बनाउन अनुरोध गरिएको बताउनुभयो । पछाडी पारिएका समुदायको विकासका लागि प्रवर्धनात्मक कार्यक्रम बनाउन आग्रह गरेको छ । प्रदेश सरकारले गर्ने कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयसँग समन्वय नगरेको भन्दै समन्वय गर्नुपर्नेमा समेत छलफल भएको थियो ।
“प्रदेश सरकारले गर्ने कार्यक्रमबारे लिखित रुपमा जानकारी गराउनुपर्ने व्यवस्था छ, तर मौखिक जानकारीमात्रै आइपुग्छ”, उहाँले भन्नुभयो । प्रदेश मन्त्रीपरिषद्सका निर्णयमा समेत लिखित जानकारी नआएको भन्दै समन्वयका लागि अपिल गरिएको छ । प्रदेश प्रमुखहरुको हाल मर्यादाक्रम सातौं र आठौँ स्थानमा राखिएकोमा त्यसलाई सच्याउन समेत बैठकले संघीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको पौडेलले बताउनुभयो । मर्यादाक्रम संसोधन गर्न पहल गरिने बताउनुभयो ।
बैठकले हरेक ६ महिनामा प्रदेश प्रमुखहरुको बैठक बोलाउने गरी कार्यविधि पास गरेको छ । प्रदेश प्रमुखहरुको बैठक आलोपालो गरी बोलाउने कार्यविधिमा उल्लेख छ । सात प्रदेशकै विकासको सम्भावना, पहिचानका बारेमा खोजी गरी संघीय सरकारलाई सुझाव दिइने निर्णय समेत भएको छ ।








