चितवन । भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । महानगरले आईतबार एक कार्यक्रमका विच भरतपुरका विभिन्न विद्यालयमा पढ्ने गरिब, जेहेन्दार र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका छात्रालाई साइकल वितरण गरेको हो ।
महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत यो पटक भरतपुर वडा नम्बर ५, ७,८ र ११ का ४ वटा विद्यालयका गरी ८० जना छात्रालाई महानगर प्रमुख रेनु दाहालले साइकल वितरण गरेकी हुन् । विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको प्रमुख दाहालले बताइन् ।
महानगर भित्रका विपन्न, गरिब र जोखिममा परेका परिवारका छात्रालाई शिक्षामा निरन्तरता दिनको लागि साइकल वितरण गरिएको उनको भनाइ थियो । महानगरले यो बर्ष १० वटा वडाका २ सय जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको थियो जसमा ७ वटा वडाका १४० साइकल वितरण गरिएको छ भने बाँकी ३ वटा वडाका ६० जना छात्रालाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन्। उनले सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि साइकल वितरण लगाएत अन्य विभिन्न कामहरु धमाधम भइरहेको बताईन् । महानगरले गत आर्थिक बर्षमा १२ वटा वडाका ३२४ छात्रालाई साईकल वितरण गरिसकेको छ ।
साइकल पाएपछि छात्राहरु खुसी भएका छन् । साइकलका कारण विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईलाई निरन्तरता दिन सहज हुने छात्राहरुको भनाइ थियो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए ।कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थिती रहेको थियो ।









