चितवन । सत्ताधारी ५ दलीय गठवन्धनको भरतपुर महानगरपालिका स्तरीय संयन्त्रले बैशाख ३० को स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस भरतपुर महानगरपालिका कार्यसमितिका सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा मंगलवार बसेको बैठकले यो निर्णय गरेको हो ।
निर्णयको एक नम्बर बुँदामा भनिएको छ – ‘आसन्न स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको बिषयमा आज महानगर स्तरिय पाँच दलको बैठक बसी चुनाबी तालमेल गरि जाने निर्णय गरियो ।’ यस्तै निर्णयको दुइ नम्बर बुँदामा भनिएको छ – ‘गठबन्धनमा सहभागी दलहरुका विच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै गठबन्धनलाई निरन्तरता दिँदै स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरियो ।’
बैठकपछि जारी संयुक्त बिज्ञप्तीमा संयन्त्र संयोजक काँग्रेस भरपुर महानगर सभापति अधिकारीसहित ने.क.पा. माओबादी केन्द्र भरतपुर महानगरपालिकाका अध्यक्ष इश्वर सापकोटा सुमन, ने.क.पा. एकिकृत समाजवादी भरतपुर महानगरपालिकाका इञ्चार्ज सूर्य प्रसाद शर्मा, जनता समाजबादी पार्टी भरतपुर महानगर अध्यक्ष अनुज जोशी र राष्ट्रिय जनमोर्चा भरतपुर महानगर अध्यक्ष भक्तिराम गौतमको हस्ताक्षर छ ।
चुनाबी तालमेलको निर्णय भइरहँदा महानगरको प्रमुख कसले पाउला भन्ने आम चासो भने बढेको छ । यसबीचमा नेपाली काँग्रेसले मेयर आफुले पाउनु पर्ने निर्णय नै गरिसकेको छ भने माओबादी केन्द्रले पनि दाबी गरिरहेको छ ।








