चितवन । राप्रपा चितवनले वडा उम्मेदवार छनौट कार्यलाई तीव्र पारेको छ । आज (सोमबार) खैरहनी नगरपालिकाको वडा नम्बर ११ बाट सर्वसम्मत उम्मेदवारहरु चयन गरेको छ । वडाध्यक्षमा घनश्याम बस्नेत, महिला सदस्यहरुमा मालती पाठक र मानकुमारी उप्रेती, सदस्यमा लक्ष्मण पाण्डेलाई सर्वसम्मत चयन गरेको छ ।
वडा सदस्यमा एक जना मनोनयन दर्ता अगावै टुंग्याउने राप्रपा पूर्व केन्द्रीय सदस्य रामहरी कँडेलले जानकारी दिनुभयो । उहाँले राप्रपाले चितवनका ९८ वटै वडाबाट उम्मेदवारी दिने बताउनुभयो । उहाँले राप्रपामा जनलहर आएकाले यसपाली राप्रपाले धेरै जनप्रतिनिधि जिताउने दाबी गर्नुभयो । उहाँले उम्मेदवारहरुलाई जनताको विश्वास जित्दै जनअपेक्षाहरु संकलन गर्न सुझाव समेत दिनुभयो ।
सात वटै पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षमा पनि उम्मेदवारी चयन गर्ने जनाइएको छ । यसपाली चितवनबाट धेरै जनप्रतिनिधि राप्रपाबाट जिताउन घरदैलो अभियानलाई पनि तीव्र पारेको छ । यसैबीच, उम्मेदवार छनौट कार्यक्रममा खैरहनी ११ भित्र अन्य पार्टी परित्याग गरी ३२ जना राप्रपामा प्रवेश गरेको राप्रपा चितवनका जिल्ला सदस्य एनप्रसाद डल्लाकोटीले जानकारी दिनुभयो ।








