चितवन । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले पदबाट राजिनामा दिएका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको पक्षबाट साझा उम्मेद्वारको रुपमा अध्यक्ष उम्मेद्वार भै निर्वाचन लड्ने तयारीका साथ उनले आज उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई राजिनामा दिएकि हुन।
गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा निर्वाचित भएकि गुरुङको ५ वर्षे कार्यकाल सुखद रहेको उनले बताएकि छन्। राजिनामा पत्रमा लेखिए अनुसार आफ्नो ५ वर्षे कार्यकाल सकिदै गर्दा आफु कुनै एक राजनैतिक दलबाट निर्वाचन लडेर जितेको भएपनि कुनैपनि नागरिकलाई राजनैतिक दृष्टिकोणले नहेरी अभिभावकीय भूमिका निर्वाह गरेको, व्यक्तिगत लाभको लागि कहिल्यै पनि गाउँपालकाको स्रोत र साधनको दुरुपयोग नगरेको साथै विकाश निर्माणको काममा आवश्यकता हेरि योजना विनियोजनमा लागेको बताएकि छन्।
यस्तै स्थानीय तह निर्वाचनको दोस्रो कार्यकालको लागि वैशाख ३० गते निर्वाचनको मिति तोकिएकोले निर्वाचन प्रयोजनको लागि पार्टीको प्रचारप्रसारको काममा खटिनुपर्ने भएकोले अध्यक्षको रुपमा आफुले समय दिन र कामकाज गर्न नसक्ने भएकोले राजिनामा दिएको पत्रमा उल्लेख छ। त्यसो त अध्यक्ष गुरुङ इच्छाकामना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि ५ वर्षे कार्यकालमा इच्छाकामनामा केही महत्वपूर्ण कामहरु भएका छन्। सबैभन्दा महत्वपूर्ण काम भौगोलिक हिसाबले निकै कठिन रहेको गाउँपालिकाको सबैजसो गाउँहरु सडक सञ्जालले जोडिएका छन्।
हिजो घण्टौ हिड्नुपर्ने गाउँहरुबाट कच्ची नै भएपनि यतिबेला सडक सञ्जालले जोडिएका छन् जसका कारण गाउँ र शहरहरु बिचको पैदल दुरी घटेको छ। उनले छोरीलाई प्रोत्साहन स्वरुप जन्मिने वित्तिकै गाउँपालिकाको तर्फबाट १० हजार नगद सहितको छोरी बचत खाता खोल्ने कार्यक्रम ल्याए भने अविवाहित एवं विदुर एकल पुरुष महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था, सबै वडामा कम्तिमा २ वटा स्वास्थ्य केन्द्र स्थापना, हरेक विद्यालयलाई प्रविधि मैत्री बनाउने प्रयासको थालनी, आफ्नै स्रोत साधनबाट इच्छाकामना अस्पताल निर्माणको काम, सामुदायिक विद्यालयहरुमा निजी शिक्षकलाई दरवन्दी व्यवस्थापनको पहल, सडक कालोपत्रे कामको सुरुवात, शहरी क्षेत्रमा सोलार जडानको काम लगायतका महत्वपूर्ण कामहरु गरेका थिए।








