भण्डारा । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमाले राप्तीले नगरका १३ वटै वडामा घरदैलो कार्यक्रम सुरु गरेको छ । आइतबारबाट सुरु भएको घरदैलो कार्यक्रम वैशाख २७ गतेसम्म चल्ने एमाले राप्ती नगर कमिटीका अध्यक्ष पूर्णबहादुर थापाले बताउनुभयो । थापाका अनुसार वैशाख २७ गते राप्ती नगरपालिका वडा नम्बर ४ मा रहेको काशीरुपा खेल मैदानमा ठूलो चुनावी आमसभा गरेर घरदैलो कार्यक्रम समापन गरिनेछ ।
नगरप्रमुखका उम्मेदवार गोविन्द कँडेल र उपप्रमुखका उम्मेदवार मेनका पाठकसहितका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागी छन् । घरदैलो कार्यक्रममा नगरप्रमुख र उपप्रमुखका उम्मेदवार सहित हरेक वडाका वडाध्यक्षसँगै एमालेले घरदैलो गरिरहेको राप्ती नगर कमिटीका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
एमालेबाट राप्ती नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सिद्धिलाल स्याङ्तान, वडा नम्बर २ मा वडाध्यक्षका उम्मेदवार श्यामसुन्दर उप्रेती, वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवार शिवकान्त ओली, वडा नम्बर ४ मा वडाध्यक्षका उम्मेदवार केदार आचार्य तथा वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार सीताराम बलको नेतृत्वमा घरदैलो कार्यक्रम भइरहेको छ । त्यसैगरी, वडा नम्बर ६ मा वडाध्यक्षका उम्मेदवार जल्लु महतो थारु, वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार छविलाल भुषाल, वडा नम्बर ८ मा वडाध्यक्षका उम्मेदवार पूर्णप्रसाद आचार्य, वडा नम्बर ९ मा वडाध्यक्षका उम्मेदवार खड्कबहादुर तामाङ, वडा नम्बर १० मा वडाध्यक्षका उम्मेदवार अमर बहादुर तामाङ, वडा नम्बर ११ मा वडाध्यक्षका उम्मेदवार सोमिलाल मोक्तान, वडा नम्बर १२ मा वडाध्यक्षका उम्मेदवार धर्मजित तितुङ् र वडा नम्बर १३ मा वडाध्यक्षका उम्मेदवार सूर्य बहादुर प्रजाको नेतृत्वमा घरदैलो भइरहेको छ ।
नगरका सबै वडाको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार, स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको समेत एमाले राप्ती नगर कमिटी अध्यक्ष थापाले जानकारी दिनुभयो ।
वडा नम्बर ८ मा ब्रम्हनगरबाट घरदैलो
नेकपा एमाले राप्तीले आइतबारबाट नगरका सबै वडामा घरदैलो सुरु गरेसँगै वडा नम्बर–८ ले पनि घरदैलो कार्यक्रम सुरु गरेको छ । एमाले राप्ती–८ का वडा अध्यक्षका उम्मेदवार पूर्णप्रसाद आचार्यले ब्रम्हनगरबाट घरदैलो कार्यक्रम सुरु गर्नुभएको हो । घरदैलोमा उहाँसहित वडा सदस्यका उम्मेदवारहरु अम्बिका थपलिया, कमला कुमारी विश्वकर्मा, दिपक अधिकारी, सुब्बा तामाङको नेतृत्वमा घरदैलो कार्यक्रम भइरहेको छ ।
वडाअध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुले मतदाताका समस्या, गुनासा र रायसुझाव लिँदै मतदाताका घरघरमा पुगेर मत मागेका थिए । घरदैलो कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।








