चितवन । चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिईएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिईएको हो ।
सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । मान्छे मारेपछि भने थप शक्ति परिचालन गरेर नियन्त्रणमा लिईएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका खोरमा राखिएको छ ।
बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने तिवारीले जानकारी दिनुभयो । बाघ राख्न कसरा र सौराहामा खोर रहेको छ । कसराका खोरमा दुईवटा बाघ रहेका छन् । एउटा बाँकेबाट ल्याईएको हो भने अर्काे स्थानीय देवनगरबाट ल्याईएको हो । सूचना अधिकारी तिवारीका अनुसार गएको असार ७ गतेयता आइतबारसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ । निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो ।








