चितवन । चितवनका सातवटा पालिका मध्ये कालिका नगरपालिकामा पछिल्लो समय बसोबासलागि आकर्षण बढ्दै गएको छ । खेतीयोग्य जमीनको साथै बसोबासको लागि उपयुक्त नगरपालिकाले छोटो समयमै फड्को मार्न सफल भएको छ । यो नगरपालिकामा ११ वटा वडाहरु छन । भरतपुर नगरपालिका र पर्यटकीय क्षेत्र सौराहाबाट पनि नजिक पर्ने भएकोले यहांँ दिनानुदिन जनसंख्या पनि बढ्दो छ । चारैतिर पहाड र जंगल भएको र बीचमा समथर जमीन भएकोले पनि यहांँ बसोबासको लागि उपयुक्त स्थान बन्दै गएको हो । पछिल्ला बर्षहरुमा यहांँ बनेका फराकिला कालोपत्रे बाटो, खानेपानी , शिक्षा , स्वास्थ्यको पहुंँच भएको कारण यहांँ उल्लेखनीय रुपमा बाक्लो बस्तीको रुपमा परिणत हुंँदै गएको छ । तर यहांँ अधिकांश भूभागमा भूमिहिन र अव्यस्थित बसोबास कारण चुनौति र समस्या पनि थपिदै गएको छ भने यहांँ रहेका केही खोलाहरुले बर्षायाममा सधै दुःख दिने गरेको छ । यस्ता समस्याहरुबाट वडा नम्बर ७ पनि अछुतो छैन । यसअघिका जनप्रतिनिधिहरुले अल्पकालिन र मध्यकालिन योजना ल्याएपनि यसको दीर्घकालिन समस्या भने समाधान भएको छैन । वडा नम्बर ७ मा भर्खरै मात्र निर्वाचित भएर आएका युवा वडा अध्यक्ष कमल मोक्तान यसको दीर्घकालिन समस्या समाधानको लागि सक्रिय रहंँदै आएका छन । उनले यहांँका जनताका समस्या समाधानका लागि दिनरात नभनी खटिदै आएका छन र चुनावमा प्रतिबद्धता गरेका योजना पुरा गर्ने ध्याउन्नमा उनी लागेका छन । वडा अध्यक्ष मोक्तानसंँग वडा नम्बर ७ का भूमिहिन , अव्यस्थित बसोबास, बाढी डुबानका बिषयमा हल्कारो समाचारका राजेन्द्र कार्कीले गरेको कुराकानीको अंश ।
अध्यक्ष ज्यू यो वडाको काम कारवाही कसरी अघि बढिरहेको छ ?
हामी जनप्रतिनिधि भएर आएको तीन महिना हुन लागेकोे छ । बिशेषगरी यो वडामा हुने दैनिक जनताको कामको सेवामानै बितिरहेको छ । बिहान देखि बेलुकासम्म म उहांँहरुको काम , समस्यानै व्यस्त हुने गरेको छु । जस्तो यहांँ अघिल्लो कार्यकालमा थाती रहेका काम , यहांँका मुख्य समस्याहरुको समाधानमा नै बितिरहेको छ ।
यो वडामा के कस्ता समस्याहरु छन ?
हुनत हरेक वडाका आ आफ्नै समस्या हुन्छन र अधिकांश समस्या साझा पनि हुन्छन । तर यो वडाको कुरा गर्ने हो भने मुख्यत यहांँ भूमिहिन बसोबास, अव्यस्थित बसोबास को साथै बाढी र डुबानको टड्कारो समस्या छ । यसलाईनै मैले मेरो कार्यकालमा पहिलो प्राथमिकतामा राखेको छु । त्यसका लागि श्रोत जुटाउन, स्थानीय र सरोकार निकायसंँग सल्लाह लिने र योजना बनाउनमा तल्लिन छु । जस्तो बर्षौ देखिको बुङ्ग खोला र थाङ्ग खोलाको समस्या ज्यूका त्यूंँ छ । जस्तो ७, ३ २, ६ वडा डुबानहरु पर्ने गर्छन । हामी नगरपालिकाका मेयर ज्यू, उपमेयर ज्यू , जनप्रतिनिधि र कार्यपालिका सदस्यहरु सबै जना मिलेर व्यवस्थापन गर्ने बिषयमा छलफल गरेका छौंं ।
तपाईका कार्यकालमा के कस्ता समस्या समाधान भए, के कति बांँकी छन ?
समस्या त यो वडामा धेरै छन । विकास निर्माण, बाटो घाटो, पुल बनाउने, मर्मत गर्ने त्यत्तिकै समस्या छन । सबै समस्या एकैपटक समाधान गर्न सकिदैन । कति समस्या समाधानको प्रक्रियामा छन कति पुरा हुने चरणमा पनि छन । त्यसैले मैले यस्ता समस्यालाई अल्पकालिन , मध्यकालिन, दीर्घकालिन योजना बनाएर अगाडी बढ्ने सोचाईमा छु । कालिका ७ मा पिच गर्ने काम अब केहीमात्रामा बांँकी छ । किनकी पिच गर्ने बाटा लामो दुरीका भएकोले नगरपालिकाकाले बजेट सिमित भएकोले प्रदेशबाट बजेट ल्याउने प्रयासमा छौं ।
कालिकाका अन्य वडाहरु जस्तै यो वडामा पनि हरेका बर्षायाममा बाढी र डुबानले सास्ती खेप्दै आएका छन ?
यसका लागि के के हुंँदैछ ? यो नगरपालिकाका अधिकांश वडामा बाढी र डुबान बर्षौदेखिको समस्याको रुपमा देखिदै आएको छ । किनकी यहांँ वरपर जंगल , पहाड र खोलाहरु प्रशस्त छन । जसले गर्दा बर्षायाममा निकास गर्ने दीर्घकालिन समाधान गर्न हामीलाई चुनौति छ । यो वडा एक्लैले गरेर पनि समस्या समाधान हुँदैन । नगरपालिका र अन्य वडा अध्यक्षहरु संँग सहकार्य र समन्वय गरेर अगाडी बढ्दैछौं । यसअघि थाङ्गखोला र बुङ्ग खोलाको विषयमा केही काम भएको पनि थियो । यसको व्यवस्थापनका लागि कालिका ७, ६, २, ३ डुवानमा परेका वडालाई आगामी एकबर्षसम्म यसको व्यवस्थापन गर्न अगाडि बढ्ने बिषयमा घनिभुत छलफल गरेका छौं । यसको व्यवस्थापनको लागि पांँचबर्ष भित्र हामीले दिर्घकालीन समाधान लागि १ देखि ११ वडाका वडाअध्यक्षहरु लागिपरेका छौं । मैले फेरी पनि दोहोराएंँ भूमिहिन , अव्यस्थित बसोबास र बाढी डुबान समस्या समाधान मेरो पहिलो प्राथमिकता हो । यो वडाका स्याली बजार , लाहुरेचोक बढी डुबानमा परेको हुंँदा यसलाई निकास दिन तटबन्धनको लागि पनि लागि परेका छौं ।
भूमिहिन र अव्यस्थित बसोबासको व्यवस्थापनको काम कहांँ पुगेको छ ?
हालसम्म यो वडाको ४ वटा टोलसुधारको नक्सांकन र नापीको काम पुरा भएको अवस्था छ । उनीहरुको जग्गा प्राप्तिको लागि तीब्र रुपमा अगाडी बढाएको छु । हाल एकमहिनामा ११ वटा वडाहरुमा भूमिहिन र अव्यवस्थित बसोबासको फार्म भरेका थिए । अन्य वडाहरुको नापीको काम अघि बढाउंँदै छन । बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म काम गरिरहेका छौं । मैले चुनावी अभियानमा हुंँदै गर्दा मैले गरेका वाचा र प्रतिबद्धता पुरा गर्ने क्रममा छु । जस्तो नमुनाटोल, जनशक्तिटोल, जनहित टोल, वरपिपल टोल, जनविकास टोलको काम सकिएको अवस्था छ भने, त्रिनाथटोल , जुटपानी टोल बाह्रघरे टोल लगायतका टोलको नापजांँचको काम शुरु भएको छ ।
अन्त्यमा , फेरी कोभिड बढ्दै गएको अवस्था यस्तो अवस्थामा वडाले के गर्दै छ ?
यसबारे के भन्नुहुन्छ ? कोभिडको पहिलो लहरमा मानिसमा धेरै त्रास र अन्यौल थियो । तर हालसम्म आउंँदामा नागरिकमा धेरै सोच र सचेतनामा सुधार आईसकेको छ । सबैजसोले कोभिड विरुद्धको खोप पनि लगाई सक्नुभएको अवस्था छ । तरपनि हामी होशियार रहनुपर्छ । त्यसैले वडाबासीलाई धेरै भीडभाडमा नजाने , मास्क र सेनिटाईजर प्रयोग गर्ने र कोभिडको लक्षण भएमा नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा जान आग्रह गर्दछु ।








