काठमाडौं । वाम गठबन्धन बनाउन भन्दै नेकपा एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवादको पहल थालेका छन् । सत्ता गठबन्धनको सरकार बन्ने निश्चित भएसँगै एमालेका नेताहरुले प्रचण्डलाई फकाउने प्रयास स्वरुप वाम गठबन्धन बनाउन जोडबल गरेका हुन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य राजन भट्टराई लगायत नेताहरुले भित्रभित्र प्रचण्डलाई भेटेर लविङ गरिरहेको एक माओवादी नेताले बताए । ‘प्रचण्ड कमरेडलाई सत्ता गठबन्धनबाट अलग गराउने रणनीतिका साथ वाम गठबन्धन बनाउन भन्दै भेटघाट जारी राख्नु भएको छ । बरु सरकारको नेतृत्व गर्नुस् हामी समर्थन गर्छौ भन्ने छ,’ ती माओवादी नेताले भने, ‘तर, तत्काल सत्ता गठबन्धन छोड्ने स्थिति छैन ।
यसैलाई निरन्तरता दिने सोचमा अध्यक्ष हुनुहुन्छ ।’ सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनेमा संघदेखि प्रदेशसम्म एमाले सत्ता बाहिर हुने निश्चितजस्तै छ । यस्तो अवस्थामा एमाले नेताहरु सत्ता गठबन्धन भत्काउने र वामगठबन्धन बनाउने रणनीतिमा लागेका हुन् । यता प्रचण्ड गठबन्धनबाट पहिलो चरणमै प्रधानमन्त्री बन्न जोडतोडका साथ लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लगत्तै प्रधानमन्त्री हुने भद्र सहमति भएको र सोहीअनुसार पहिलो चरणमै प्रधानमन्त्री आफूले पाउनुपर्ने अडानमा प्रचण्ड छन् ।
यद्यपि संसदीय अंकगणितमा माओवादी तेस्रो (त्यसमा पनि संख्या कम) भएपछि प्रचण्डले सजिलै कांग्रेसको समर्थनमा प्रधानमन्त्री पाउन भने कठिन छ । त्यसैले प्रचण्डले आफ्नो पक्षमा ६० भन्दा बढी सिट पार्न नेकपा एकीकृतसहितका विभिन्न साना दलका नेताहरुसँगको निरन्तर भेटघाट र लबिङमा छन् । प्रचण्ड माओवादीको ३२ सिटसहित एकीकृत समाजवादीको १० सिट, जसपाको १२ सिट, जनमत पार्टी ५ सिट, नागरिक उन्मुक्ति पार्टीको ४ सिट र प्रभु साह समुहको २ सिट आफ्नो पक्षमा पार्न लबिङमा रहेका हुन् ।
ती सबै दल तथा समूहका सांसदलाई आफ्नो पक्षमा पार्न प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेत लागिपरेको नेताहरुको भनाइ छ । पहिलो चरणमै प्रधानमन्त्री हुन नसके दोस्रो चरणमा थप सकस हुने बुझाइका साथ प्रचण्डले पहिला आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको बुझिएको छ ।








