काठमाडाैं। संसदीय दलको नेताको निर्वाचनका लागि मंगलबार सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा गगन देउवाभन्दा केही समयपछि पुगेका थिए । तर, दुवैजनाले उम्मेदवारी भने सँगै दर्ता गराए । बुधबार बिहान ८ बजेदेखि १० सम्म मतदानको कार्यक्रम छ ।
गत ४ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको कांग्रेसको संसदीय दलको निर्वाचनका लागि बुधबार मतदान हुँदै छ । संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार छन् । देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । थापा पहिलोपटक दलको नेताका लागि निर्वाचन लड्दै छन् । निर्वाचन समिति संयोजक सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ ।
कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले सबैभन्दा ठूलो पार्टीको संसदीय दलको निर्वाचन उसको आन्तरिक जीवनका लागि मात्र नभई भावी सरकार गठनसहित समग्र राष्ट्रिय राजनीतिक कोर्सकै लागि महत्वपूर्ण छ । कांग्रेस दलको नेता निर्वाचित हुनु भावी प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदार हुनु हो । कांग्रेस सभापति देउवाले दलको नेताको निर्वाचनपछि शक्ति बाँडफाँडको विषयमा छलफल गर्ने बताएका कारण सत्तागठबन्धनमा रहेका दलहरूले पनि यसलाई चासोपूर्वक पर्खेका छन् ।
कुनै एक दलको स्पष्ट बहुमत नआएकाले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार सरकार गठनका लागि १० मंसिरसम्म दाबी पेस गर्न राष्ट्रपति विद्यादेखि भण्डारीले आह्वान गरिसकेकी छिन् । इतर समूहका नेता डा. शेखर कोइरालाले थापालाई दलको नेताको उम्मेदवार बन्न समर्थन गरेर कांग्रेसको परम्परागत राजनीतिलाई नयाँ र रणनीतिक कोर्समा प्रवेश गराएका छन् ।
विश्लेषकहरूका अनुसार यसले आसन्न महाधिवेशन र निर्वाचनमै कांग्रेसको अंकगणित र सत्तासमीकरण बदलिन सक्छ । देउवा अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा छन् भने शेखर–गगन गठबन्धनप्रति अनुदार देखिँदै आएका छन् । दलको नेतामा निर्वाचित हुन देउवा र थापा दुवैले आफ्नो समूहको भोट सुरक्षित गर्ने र अर्को समूहको भोट तान्ने रणनीति अपनाएका छन् ।
मंंगलबार उम्मेदवारी टुंगो लागेसँगै आफ्नो पक्षमा मत ल्याउन दुवै नेता आफैँ र समूह परिचालनमा लागेका हुन् । दुवै समूहले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । निर्वाचन समितिले सोमबार ८९ सांसदको नाम अन्तिम मतदाता नामावलीको रूपमा प्रकाशन गरेको छ । हाल कांग्रेसको संसदीय दलमा ८९ सांसद रहेकाले बहुमतका लागि ४५ मत चाहिन्छ ।
विधानमा ५० प्रतिशत मत पाएपछि मात्रै दलको नेता चयन हुने व्यवस्था छ । अंकगणितअनुसार संस्थापन पक्षसँग सुविधाजनक बहुमत देखिन्छ । तर, दुवै पक्ष एक–अर्को समूहमा रहेका सांसदको समर्थन जुटाउने र मत बढाउने रणनीतिमा केन्द्रित छन् । ८९ मतदातामा संस्थापनमा ५४ र इतर समूहमा ३५ सांसद देखिन्छन् ।








