काठमाडाैं । प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनेका छन् । २९ पुसमा विश्वासको मत दिने क्रममा कांग्रेसले विपक्षमा मतदान गरेको थियो । सभामुखमा कांग्रेसले उम्मेदवार नउठाएपछि माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित बने । सभामुखमा उम्मेदवार नउठाएको कांग्रेसले उपसभामुखमा एकीकृत समाजवादीको समर्थनमा लीलाकुमारी राईलाई उम्मेदवार उठाएको थियो । एमालेकी सिर्जना दनुवार निर्वाचित भइन् । मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई कांग्रेसले विश्वासको मत दियो ।
सभामुखमा कांग्रेसले जंगीलाल रायलाई उठाएको थियो । तर, एमालेबाट उम्मेदवार बनेका रामचन्द्र मण्डल सभामुखमा विजयी भए । उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत इसर निर्वाचित बनेकी थिइन् । राउतविरुद्ध एकीकृत समाजवादीले कांग्रेसको समर्थनमा बेची लुंगेलीलाई उठाएको थियो । बागमती प्रदेशमा माओवादीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दियो । जम्कट्टेललाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिएको थियो ।
बागमतीमा सत्तागठबन्धनबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बनेका थिए । कांग्रेसले सभामुखमा शिवराज अधिकारी र नेमकिपाले सिर्जना सायजूलाई उठाएको थियो । उपसभामुखमा एमालेकी अप्सरा चापागाईंले बाजी मार्दा कांग्रेसले सुना परियारलाई अगाडि सारेको थियो । उपसभामुखमा नेमकिपाले गीता काफ्लेलाई उम्मेदवार बनाएको थियो । बागमतीमा सभामुख र उपसभामुखको निर्वाचनमा एकीकृत समाजवादी भने तटस्थ बसेको थियो ।
गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दा कांग्रेस विश्वासको मतको विपक्षमा उभियो । सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भए । कांग्रेसले धितालविरुद्ध सरस्वती अर्याललाई उम्मेदवार बनाएको थियो । उपसभामुखमा एमालेकी विना थापामगर निर्वाचित भइन् । उनीसँग प्रतिस्पर्धामा कांग्रेसले पार्वती तामाङलाई अगाडि सारेको थियो । लुम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री बने । उनलाई कांग्रेसले विश्वासको मत दिएन ।
प्रदेशमा कांग्रेसले कुनै उम्मेदवारी नदिँदा सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण निर्विरोध निर्वाचित भए । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त भएका छन् । उनले १० माघमा विश्वासको मत लिने भएका छन् । यसमा कांग्रेसको भूमिका के हुने भन्ने स्पष्ट छैन ।
सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् । कांग्रेसले खड्गबहादुर पोखरेललाई उम्मेदवार बनाएको थियो । उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित हुँदा कांग्रेसले इन्द्राकुमारी शाहीलाई उम्मेदवार बनाएको थियो । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।
उनले विश्वासको मत लिन बाँकी छ । तेस्रोपटक सभामुख निर्वाचित भएको प्रदेशमा माओवादीका भीमबहादुर भण्डारी निर्वाचित भए । कांग्रेसका मानबहादुर रावल पराजित भए । उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छिन् । उपसभामुखमा कांग्रेसले एकीकृत समाजवादीकी उम्मेदवार माया पन्तलाई समर्थन गरेको थियो ।








