चितवन। सहरी विकास मन्त्री विक्रम पाण्डेले नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको दर्शन गरेका छन् । शनिवार महायज्ञस्थल पुगेर मन्त्री पाण्डेले यज्ञस्थल र शिवलिंगको दर्शन गरेका हुन् ।
महायज्ञको दर्शन गर्दै पाण्डेले विश्वका मानव जातिका लागि महायज्ञ सञ्चालन गरिएको बताएका छन् । ‘विक्रिती विसंगति हटाउँदै रामले राज्य सञ्चालन गरेजस्तो राम राज्यको रुपमा सञ्चालन होस् ।’ उनले भने, ‘यो महायज्ञ विश्वका मानव जातिका लागि गएको यज्ञ हो ।’ यस कोटिहोमबाट धेरैभन्दा धेरै फल प्राप्तगर्ने विश्वास पाण्डेको छ ।
हिन्दु धर्मप्रति निरन्तर आक्रमण भएको बताउँदै पाण्डेले पूर्ववत रुपमा हिन्दु राज्य स्थापना गर्न आवश्यक रहेको बताए । हिन्दु राज्य चाहने व्यक्तिहरु बिच एकता हुन नसकेको उनको भनाई छ । फरक प्रसंगमा उहाँले चितवन जिल्लाको शिर उच्च राख्दै काम गर्ने प्रतिवद्धता समेत जनाए ।








