काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आत्महत्या न्यूनीकरणतर्फ सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व तथा व्यक्तिको आकांक्षा र परिवेशबीचको असन्तुलन आत्महत्याको मुख्य कारण भएको उल्लेख गरे । उनले आत्महत्या न्यूनीकरण गर्न चार विकल्प पनि अघि सारेका छन् ।
“नेपाल प्रहरीको तथ्यांक भन्छ– आत्महत्याको दर यो दशकमा ७८.५ ले वृद्धि भएको छ । सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु होला, भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब छ,” उनले भने, “राजनीतिमा रूपान्तरण, सामाजिक विसंगतिहरूको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्य यी चार गहन विषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी छ ।”








