चितवन । चितवनमा मंगलबार थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका २८ र अन्य विभिन्न जिल्लाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष २१ देखि ५८ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला २२ देखि ४२ वर्ष उमेर समूहका छन् । उनीहरुको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । यस्तै रत्ननगर नगरपालिका–१० की २७ वर्षीयामा संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालबा स्वाब संकलन गरिएको हो । यस्तै क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि चितवन बाहिरका संक्रमण पुष्टि हुनेमा नवलपरासीका २ पुरुष र एक महिला गरी तीन जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यसैगरि धनुषा, रुपन्देही, सिरहा र बाराका एकरएक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैले वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका थिए । यससंगै चितवनमा कुल संक्रमितको संख्या ७८३ पुगेको छ । यस्तै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको भरतपुर अस्पतालले जनाएको छ ।









