काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिंदै गर्दा पार्टी भित्र नयां समिकरण बन्ने लगभग निश्चित भएको छ । स्रोतका अनुसार अहिलेसम्म सभापति शेरवहादुर देउवाको सबैभन्दा विश्वस्त पात्र मानिदैं आएका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा नयां समिकरण बनाउने बारेमा युवा नेताहरुबीच लगभग सहमती जुटिसकेको छ । सभापतिका अर्का दावेदार कृष्ण सिटौलाले समेत निधीलाई समर्थन गर्न सहमती जनाएपछि नयां समिकरण बन्ने लगभग निश्चित भएको हो । यो समुहबाट महामन्त्रीमा गगन थापा उठ्ने बारेमा टुंगो लागेको छ । स्रोतका अनुसार आफू सभापतिमा उठ्ने घोषणा गरेका उपसभापति निधि र पूर्व महामन्त्री कृष्ण सिटौल बीच सोमबार निकै लामो समय छलफल भएको थियो । सिटौला निवास चण्डोलमा भएको छलफलमा निधी सभापति र थापा महामन्त्रीको उम्मेद्वार बन्ने विषयमा दुई नेताहरु सहमती भएको सिटौला निकट एक नेताले जनतापाटीलाई जानकारी दिए । उनका अनुसार सिटौला आफै सभापतिको उम्मेद्वार हुन चाहान्छन् । तर,आफूले जित्न नसक्ने र त्यो अवस्थामा फेरि शेरवहादुर देउवा वा रामचन्द्र पौडेलकै हातमा नेतृत्व जाने भएपछि उनी निधिलाई समर्थन गर्ने टुंगोमा पुगेका हुन् । सिटौलासंग सहमती भएपछि निधिले युवा नेताहरुको साथ लिएर चुनाव जित्ने रणनीति बनाउन थालेका छन् । त्यही अनुसार देउवा र पौडेल पक्षका अधिकांश युवा नेताहरुले आफूहरुलाई समर्थन गर्ने निधिले दावि गर्दै आएका छन् । निधिले दशैंसम्ममा आफ्नो उम्मेद्वारी घोषणा गर्ने तयारी गरिरहेका छन् । त्यस अगाडि नै युवा नेताहरुको तर्फबाट लिखितरुपमै समर्थन जनाएको विज्ञप्ति सार्वजनिक गराउने तयारीमा निधि लागिरहेका छन् । ‘सिटौलासंग सहमती भएपछि अब निधि पछाडि हट्ने संभावना लगभग बन्द भएको छ । र, माहौल पनि उनकै पक्षमा देखिन्छ ।’ सिटौला र निधिको विचमा सहमती गराउन भूमिका खेलेका एक नेताले भने ।








