रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको लोकसेवा तयारी कक्षाका सहभागीहरुलाई शनिबार पाठ्यपुस्तक प्रदान गरिएको छ । लोकसेवा सारथि प्रा.लि.को सहजीकरणमा रत्ननगर नगरपालिका वडा नं १५ ले आयोजना गरेको तयारी कक्षाका सहभागीहरुलाई उपयोगी पाठ्यपुस्तक हस्तान्तरण गरिएको हो । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाध्यक्ष आशिक तामाङ र लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले सयुक्त रुपमा कक्षामा सहभागीहरुलाई पुस्तक हस्तान्तरण गरेका थिए ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सरकारी जागिरको माध्यमबाट देशको सेवा गर्ने अबसरको ढोका लोकसेवाबाट खुल्ने भएकाले मिहिनेत गरेर अध्ययन गर्न आग्रह गरे । मुलुकको शासनलाई सुशासनमा परिणत गर्न सरकारी सेवामा दक्ष र अनुभवी जनशक्ति आवश्यक रहेको भन्दै उनले निजामती सेवामा जागिरका लागि सुरू गरिएको तयारी कक्षा महत्ववपूर्ण अवसर भएको बताए । वडाध्यक्ष तामाङले ६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा खरिदार र नायब सुब्बाका लागि कोर्ष पढाइ भइरहेको जानकारी दिए ।
बेरोजगारी समस्याको अन्त्य गर्न र वडाभित्रका युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउन दोस्रोपटक तयारी कक्षा सञ्चालन गरिएको उनले बताए । गत आर्थिक वर्षमा ३९ जना र चालू आवमा ३० जनाका लागि तयारी कक्षा सुरू गरिएको उनले बताए । कार्यक्रममा लोकसेवा सारथि प्रा.लि. का प्रबन्ध निर्देशक महेश घिमिरे वडा सदस्य इमप्रसाद पन्त, लीलादेवी पोखरेल, शिवप्रसाद तिवारी, रूकमाया परियार, वडा सचिव सूर्यप्रसाद ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।








