चितवन । रत्ननगरको वडा नं. १६ पिठुवामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी चौकीको शनिवार फूलपातीको दिन मेयर प्रलाद सापकोटा र जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले संयुक्त रुपमा उद्घाटन गरे । ईलाका प्रहरी कार्यालय टाँडी बाट केहि किलोमिटर दुरीमा रहेको पिठुवामा प्रहरीको उपस्थिति पातलो हुँदा आपराधिक गतिविधि बढिरहेको थियो ।
चोरीको घटनामा वृद्धि र लागुपदार्थ ओसारपसार तथा सेवनकर्ता बढ्न थालेपछि वडाध्यक्ष हेमराज थापाले अघिल्लो कार्यकालमै चौकी स्थापनाको लागी लबिंग सुरु गरेका थिए । चौकी स्थापनाको लागी सहयोग पुर्याएको भन्दै वडाध्यक्ष थापाले सामाजिक व्यक्तित्व ईश्वर कुमार श्रेष्ठ, मेयर प्रलाद सापकोटा लगायतको मुक्तकण्ठले प्रशंसा गरे ।
चौकीमा तत्कालका लागी प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जना प्रहरी खटिएका छन् । वडा कार्यालय परिसरमै स्थापना गरिएको चौकीलाई केहि महिना भित्रै भवनको व्यवस्थापन गरेर स्थानान्तरण गरिनेछ । प्रहरी कार्यालय निर्माणको लागी पालिकाले सहयोग गर्ने भन्दै मेयर सापकोटाले जग्गाको व्यवस्थापन गर्न वडाध्यक्ष थापालाई आग्रह गरे ।








