चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा शालिन पोखरेल मृत फेला परेको प्रकरणमा पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न चितवन प्रहरीले अनुमति पाएको छ । पहिलोपटक थपिएको ७ दिनको म्याद आज सकिएपछि प्रहरीले अदालतमा पेश गरेको थियो ।
अदालतले अनुसन्धानका लागि पुनः ४ दिनको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । विद्यालयको होस्टेलमा कक्षा ८ मा अध्ययन गर्ने छात्रा पोख्रेलले झुण्डिएर आत्महत्या गरेपछि उनका आफन्तले जबरजस्तीकरणी पछि हत्या भएको आरोप लगाएका थिए ।
आफन्तले किटानी जाहेरी दिए पछि फागुन १५ गते विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । गत फागुन १२ गते बिहान होस्टेलको पंखामा शालीन मृत फेला परेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शालीनको झुण्डिएर मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका थिए। तर आफन्तले हत्या दाबी गर्दै भरतपुरमा नभई काठमाडौं लैजाने अडान लिएपछि पोष्टमर्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको थियो । पोष्टमर्टमको रिपोर्ट आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा समेत आइपुगेको छ भने उक्त रिपोर्टमा हत्याको कारण झुण्डिएर नै भएको खुलेको प्रहरीले जनाएको छ ।








