काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पर्सा घटनाको वास्तविकता तत्काल सार्वजनिक गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गरी प्रवक्ता विश्वप्रकाश शर्माले पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदै आफ्नै कार्यकर्ताको हत्या हुँदा समेत जाहेरी नबुझ्ने सरकारबाट जनताले के आशा राख्ने भन्दै प्रश्न गरेका हुन् । ‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं।’ विज्ञप्तीमा भनिएको छ, ‘सत्तारूढ दल नेकपाको स्थानीय दुई समुह बिच पर्सा जिल्लामा असोज ६ गते बिहिवार झडप भएको, एक घाइतेको उपचारक्रममा निधन भएको र दोषीमाथि कार्वाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’ घटनाको दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुन कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व भएको स्मरण गराउँदै उनले हालसम्म पीडित पक्षको जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय भएको बताएका छन् । ‘नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य हो । तर नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ । प्रधानमन्त्रीकै जिल्ला झापामा यसविचमा कयौंको हत्या भएको छ, प्रतिपक्षी दलका समर्थक शुभचिन्तक यसविचमा देशको कयौं ठाउँमा आधा दर्जनको संख्यामा सत्तारूढ पार्टीका कार्यकर्ताबाट मारिएका छन् । पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेकोे दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ । घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कार्वाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो । तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ ।’ उनले भनेका छन् ।








