काठमाडौं । सचिवालय बैठकको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरु अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । शनिबार बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकको मागसहितको पत्र बुझाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शिर्षनेतानेताहरु बालुवाटार पुगेका हुन् । बालुवाटार जाने अन्य सचिवालय सदस्यहरुमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन्। शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बोलाएका थिए। त्यसमा प्रधानमनत्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरु सहभागी भएका थिएनन्। शुक्रबारको अनौपचारिक बैठकले पार्टीको सचिवालय बैठक तत्काल बोलाउन अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग सामूहिक माग गर्ने निर्णय गरेको थियो।








