काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी एकताको रक्षाका लागि सचिवालय बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको पोखरेलको भनाई छ । उनले शनिबार बिहान फेसबुकमा लेखेका छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।’शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमण गरेर चरम व्यक्तिवादी, गुटवादी सावित गरेको उल्लेख गरेका थिए ।








