रत्ननगर । चितवनको पर्यटकीय क्षेत्र सौराहामा मंगलबारदेखि एकतर्फी (आलो–पालो) पार्किङ व्यवस्था सुरु भएको छ । रत्ननगर–६ वडा कार्यालय, अस्थायी ट्राफिक प्रहरी कार्यालय रत्ननगर, प्रहरी चौकी बछौली र नगर प्रहरीको सहकार्यमा सडकमा ट्राफिक साङ्केतिक चिह्न राखेर यो व्यवस्था लागू गरिएको हो ।
रत्ननगर–६ का वडाध्यक्ष किरण महतोका अनुसार, सौराहाको मुख्य सडकमा रहेका हात्ती चोक, गैडा चोक, ड्याम साइड र टिकट काउन्टर क्षेत्रमा यो व्यवस्था सुरु गरिएको छ । यसअघि वडा कार्यालयले दुई दिनअगाडि सार्वजनिक सूचना जारी गर्दै एकतर्फी पार्किङ लागू गर्ने जानकारी दिएको थियो । वडाले आवश्यक ट्राफिक साङ्केतिक बोर्डसमेत उपलब्ध गराएको महतोले बताए । अस्थायी ट्राफिक प्रहरी कार्यालय रत्ननगरका प्रमुख कृष्णप्रसाद ढकालले सौराहाको व्यस्त सडकमा ट्राफिक व्यवस्थापनका लागि यो व्यवस्था प्रभावकारी हुने बताए ।
उनले ट्राफिक प्रहरीले नियमको कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । यो व्यवस्थाले सौराहाको ट्राफिक व्यवस्थापनमा सुधार हुने र पर्यटकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । पार्किङ व्यवस्था सुरुवात कार्यक्रममा वडा सदस्यहरु गोपिकृष्ण विडारी, केशरीमाया सुनार, नेपाली सेनाका सौराहा कार्यालय प्रमुख नेल्सन बस्नेत, बछौली प्रहरी चौकीका प्रमुख कैलाश कार्की, पर्यटन प्रहरी कार्यालय प्रमुख रवीन पाण्डे, वडा सचिव पदमराज सापकोटालगायतको सहभागिता थियो ।








