रत्ननगर । नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालको एक टिप्पणीप्रति कडा आपत्ति जनाएका छन् । उनले ढकालको सोच र राजनीतिक परिपक्वतामाथि गम्भीर प्रश्न उठाएका छन् । ढकालले चितवन क्षेत्र नं. १ बाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित नेपाली कांग्रेसका नेता डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्न खोजेको भन्दै कटाक्ष गरेपछि पाठकले सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन्।
हरि ढकालले डा. विश्व पौडेललाई लक्षित गर्दै संसदमा बोल्ने क्रममा,’मसँगै चितवनमा चुनाव लडेर हार्ने व्यक्तिलाई गभर्नर बनाउन खोजिँदै छ।’ भन्दै उनले नेपाली कांग्रेसले पौडेललाई गभर्नरको रूपमा अगाडि सारेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ढकालको यो भनाइले सामाजिक सञ्जालमा बहस सुरु भएको छ । कतिपयले उनको टिप्पणीलाई हल्का र अनुचित ठहर गरेका छन् । जवाफमा, कमल पाठकले आफ्नो फेसबुक स्टाटसमा ढकालको सोच र क्षमतामाथि कडा प्रहार गरे।
उनले लेखे, ‘हरि ढकालजीले के बोल्नु भाको? मसँग हारेको व्यक्ति गभर्नर बन्न खोज्दैछ रे। तपाईंभन्दा कयौँ गुणा काबिल मान्छे हुन् डा. विश्व पौडेल। उनमा राष्ट्र बैंकको गभर्नर हुन चाहिने योग्यता छ कि छैन, त्यो छलफलको विषय होला। तर तपाईंले उनको क्षमतालाई कम आँक्नुले बरु तपाईंकै सोच्ने क्षमताप्रति दया लाग्छ।’ पाठकले भने, ‘यो भनाइकै कारण तपाईं वडा अध्यक्ष हुन पनि योग्य हुनुहुन्न भन्ने प्रमाणित भयो।’ पाठकले ढकालको जितलाई ‘नौटङ्की’ सँग तुलना गर्दै चुनावी प्रक्रियामा काबिल व्यक्तिहरू हार्ने र कमजोर व्यक्तिहरू जित्ने अवस्था आउन सक्ने बताए। उनले विगतमा काठमाडौँबाट नानीमैया दाहालको जितको उदाहरण दिँदै ढकालको जितलाई इतिहासमा चर्चित हुने तर गलत सन्दर्भमा रहने टिप्पणी गरे।
उनले भने, ‘चुनाव हारेका व्यक्तिलाई अयोग्य ठान्नु मानसिक दोष हो। तपाईंले आफूलाई अत्यन्त अब्बल र हार्नेहरू, सुरेन्द्र पाण्डे र डा. विश्व पौडेल, लाई कमजोर ठान्नुभएको छ भने यो चितवन क्षेत्र नं. १ को दुर्भाग्य हो, जसले तपाईंजस्तो सांसद पायो।’ हालै डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरका लागि नेपाली कांग्रेसले प्रस्ताव गरेको चर्चा चलेपछि ढकालको टिप्पणी आएको थियो। पाठकले पौडेलको योग्यता र क्षमतालाई जोड दिँदै उनलाई गभर्नरको चर्चामा ल्याइनु स्वाभाविक भएको बताए।








