दाङ। मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ गरेको हो । जग्गा नाँपजाँच गरी पूर्जा बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो । अहिले उनीहरुलाई तुलसीपुरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको आयोगका कार्यालय प्रमुख गणेश गैरेले बताउनुभयो ।








