इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको अस्पताल शनिबार उद्घाटन गरेका छन् । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्नुका साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास पनि गरेका हुन् ।
सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख गर्दै देखिएका अरू समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गरे । प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।








