काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलि र चिनियाँ रक्षामन्त्री जनरल वेइ फेंग्हेबीच शिष्टाचार भेटवार्ता भएको छ । २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान काठमाडौँ आइपुगेका चिनियाँ रक्षामन्त्री फेङहे रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । यसअघि उनी नेपाली सेनाको हेडक्वार्टर जंगी अड्डामा पुगेका थिए । जंगी अड्डामा उनले नेपाली सेनाले दिएको सलामी ग्रहण गरेका थिए । जंगी अड्डामा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरे । प्रधानमन्त्री केपी शर्मा ओलिसँग शिष्टाचार भेटवार्तापछि चिनियाँ रक्षामन्त्री फेङहेले राष्ट्रपति बिद्या भण्डारीलाई भेट्ने कार्यक्रम तय गरिएको छ । उनी आजै स्वदेश फिर्ता हुनेछन् ।








