फोटोः पूर्व प्रधानमन्त्री स्वः सुशील कोइरालासँगै पूर्वमन्त्री स्वःभीमबहादुर तामाङ साथमा लेखक ।
काठमाडौं । अघिल्लो रात साँढे ९ बजेसम्म विवाहको पार्टी थियौं । म र भीमबहादुर दाइ (अर्थात नेपाली लोकतान्त्रिक आन्दोलनका एउटा खम्बा नेपाली राजनीतिका अस्था र निष्टाका प्रतिमूर्ती भीमबहादुर तामाङ) । २०६९ मंसिर १६ गते, सँधै बिहान थापागाउँ स्थति भीमबहादुर दाइकोमा पुगेर लिफ टी खान्थे । त्यसदिन खाना खाएरै जान्छु भन्दै बसेको थिएँ । दाइकोमा गएर फर्किँदा सँदै ११/१२ बज्थ्यो। अघिल्लो दिन बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा विवाहको पार्टी खाएर फर्किँदा पनि दाइलाई अलि गाह्रो महसुस भएको थियो । मैले पु¥याइदिन्छु भनेको थिएँ । उहाँले मान्नुभएन् । ‘भयो ट्याक्सी चढाइदिनुस् म जान्छु दुःख नगर्नुस्’ भन्नुभयो । ट्याक्सीमा चढ्दै गर्दा उहाँले भन्नुभएको थियो, ‘भोली बिहानै आउनुस् है ।’ त्यही संवाद हाम्रो अन्तिम हुन्छ भन्ने लागेको थिएन् । बिहान ९ बजे तिर उहाँका भतिज युवराजको फोन आयो– ‘ठूलो बुवालाई गाह्रो भएर ढल्नुभयो अंकल आउनुस् न ।’ सँधै ७/८ बजे भीम दाइकोमा पुग्ने म त्यसदिन खाना पर्खिँदै थिएँ। खाना नखाई थापागाउँ पुगेँ । उहाँलाई नर्भिक लगिसकिएको रहेछ । त्यतै दौडिएँ । त्यो अन्तिम पल उहाँलाई ‘दाइ कस्तो छ ?’ भनेर सोध्न पनि पाइन् । दाइले मलाई झुक्याउनुभयो । काठमाडौंका धेरै ठाउँमा मेरो बाइकमा यात्रा गर्नुभएको थियो। धेरै ठाउँमा मलाई पनि साथ लिएर जानु भएको थियो। तर, अन्तिम यात्रामा उहाँलाई अस्पतालसम्म पु¥याउन पाइन् । अझै पनि मनमा दुःख लाग्छ । सायद त्यस दिन ग्यास्टिकको बहाना पारेर खाना नपर्खी दाइकोमा लिफ टी खान गएको भए उहाँलाई अस्पतालसम्म पु¥याउन पाउँथे होला, पाइन् ।
मन्त्री क्वाटरबाट नयाँ डेरा पुग्दा गाडी भाडा थिएन
मन्त्रीको क्वाटर छाडेपछि एउटा झोला बोकेर काठमाडौं थापागाउँ अधिवक्ता राधेश्याम अधिकारीको घरमा पुग्नुभयो। खल्ती छाम्दा पैसा भाडा तिर्ने पैसा थिएन् । सँगैको साथीलाई भाडा तिर्ने इसारा गर्नुभयो। राधेश्याम जीको घरमा एउटा सामान्य कोठा । सुत्ने खाट, टी टेवल, दुईवटा मेच । भित्तामा नयाँ÷पुराना किताबहरुको भण्डार । नजिकै एउटा बेदको कुर्सी । एउटा मन्त्री भइसकेको व्यक्तिको बसाइ । पत्यार लाग्दैन्थ्यो जो कोहीलाई पनि । हामीले अहिले देखेका नेताहरुको जीवन शैली र दाइको जीवनशैलीमा आकास पातालको फरक थियो । काठमाडौंमा भाडा गरी बस्ने एउटा विद्यार्थीको जीवन भन्दा फरक थिएन उहाँको त्यो बसाई । उहाँ जेल पर्नुभएको बेला श्रीमतीले अर्कैसँग विवाह गर्नुभएको थियो । २०५२ सालमा कानुन मन्त्री भएको मान्छे । मन्त्रीको झण्डावाल गाडी छाडेपछि उही सार्वजनिक यातायातामा ठेलमठेल, साथीले दिएको सरसहयोगले भाडा तिर्दै हिड्नु भयो ।
१६ गतेको अप्रत्यासित घटना नहुन्थ्यो त उहाँले गाउँ जाने इच्छा व्यक्त गर्नुभएको थियो । झुले गएर साता दिन गाउँले जीवन बिताउने योजना बन्दै थियो । तर, पूरा हुन सकेन् । मृत्युको अघिल्लो दिन डाक्टर शसांक कोइराला उहाँकोमा आउनु भएको थियो । म पनि त्यहीँ थिएँ । उहाँले मलाई पनि गाउँ जाउँ भन्नुभएको थियो । मैले पनि हुन्छ भनेको थिएँ ।
भोलीपल्ट सल्लाह गर्ने योजना बनेको थिएँ । भोलीपल्ट मर्निङ वाक गरेर फर्किनु भएका उहाँलाई हर्ट अट्याक आयो । अरु दिन चिया खानै दाइकोमा पुग्ने म त्यस दिन खाना खाएर जाने सोचले घरै थिएँ । अप्रत्यासित त्यो फोन कलले हाम्रो गाउँ जाने योजना अधुरै रह्यो ।
अहिलेका नेताहरुले सिक्नुपर्ने हो भीम दाइबाट । मर्दा उहाँले केही लानु भएन् । लाखौं नेपालीको माया लानुभयो । उहाँको मृत्युमा एक जनाले नराम्रो शब्द खर्च गरेनन् । राम्रो मान्छेलाई चाँडै लैजान्छ । नेपाली राजनीतिको एउटा निस्ठाको अध्याय समाप्त भयो । अहिले प्रधानमन्त्री हुन या अरु नेता विरामी भएर अस्पतालमा भर्ना हुन नपाउँदै सामाजिक सञ्जालमा प्रतिक्रिया आइहाल्छन्– मरे पनि बेस, देशले सुख त पाउने थियो । तर, भीमबहादुर दाइको मृत्युमा कोही हासे सबैको हृदय रोयो मात्र ।
उनको मृत्यु नेपाली कांग्रेसका लागि मात्रा क्षती थिएन् समग्र नेपाली राजनीतिका लागि क्षती थियो । निष्ठाको राजनीति गर्दा गर्दै पनि १२ औं महाधिवेशनमा सभापति पदमा उनले ७८ मत मात्र प्राप्त गर्नुभयो । त्यसैले देखाउँछ– सायद नेपालमा निष्ठाको राजनीतिको अवसान भइसकेको थियो । दाइको अवसानसँगै झन् निष्ठा हराउँदै गयो ।
भीम दाइको नाम मैले मेरो बाल्यअवस्थामै सुनेको नाम हो । पञ्चायती शासनको थिचोमिचोमा थियो देश । बुबा तत्कालिन दोलखा जिल्ला कार्यालयमा जागिरे । मेरा दाइहरु ९–१० मा पढ्नहुन्थ्यो । जिल्लामा पञ्चायती विरोधी गतिविधि बढ्दै थिए । दाइहरुमा पनि पञ्चायती विरोधी गतिविधिको प्रभाव पर्दै थियो । तत्कालिन कालिञ्चोक माविका गुरु चित्रबहादुर कार्की प्रजातन्त्रवादी हुनुहुन्थ्यो । सायद दाईहरुमा पनि उहाँकै प्रभाव परेको थियो । घरमा राजनीतिक किताबहरु लिएर आउनुहुन्थ्यो । बुवालाई मन पर्दैनथ्यो । जागिरको पनि सवाल थियो ।
गाउँमा मैले भीम दाइको नाम घरमै पहिलो पटक सुनेको हुँ बुवाकै मुखबाट । अहिले पनि याद आउँछ बुवाले उहाँलाई गालि गरेको । बुवा र दाइहरुको टसल पथ्र्यो । मलाई पनि दाइहरुकै कारणबाट बहुदलको प्रभाव परेको थियो । २०४६ सालमा बहुदल आयो । एक रात दाइहरुले वाल पेन्टिङका लागि मलाई पनि लिएर जानु भयो । मकैबारी गाविसको चुनाव प्रचारको जिम्मेवारी मेरो दाइ नवराज र कृष्णबहादुर थापाहरुलाई थियो । मैले पनि वाल पेन्टिङ गरे । मलाई याद आउँछ मैले सडक किनाराको घरको भित्तामा बनाएको रुख धेरैपछि सम्म पनि उस्तै थियो ।
दोलखालाई बामपन्थीहरुको गढ भनिन्थ्यो । गौरीशंकर क्याम्पसमा नेविसंघको विउ छैन भन्थे कलेजका साथीहरु । म मिनभवनमा पढ्थे । यहाँ स्ववियु चुनाव देखेको थिए । दोलखामा पनि किन नगर्ने भन्ने लाग्यो । म ५२ साल तिर दोलखा गौरीशंकरमै भर्ना भएँ । दुई तीन महिनाको अन्तरालमा हामीले त्यहाँ संगठनलाई बलियो बनायौँ । त्यहाँको पहिलो स्ववियू चुनावमा नेविसंघलाई सबै सिटमा विजयी बनायौँ । मलाई सभापतिमा उठ्ने चाहना थियो । तर, टिकट दिइएन् । त्यति हुँदा हुँदै पनि म सबैभन्दा बढी मत ल्याएर उपसभापतिमा विजयी भएँ ।
त्यस पछि दोलखा नेविसंघको अध्यक्ष किरण लामा हुनुभयो । उहाँ पनि भीम दाइले धेरै माया गर्ने व्यक्तिमा पर्नुहुन्थ्यो । म सचिव भएँ । भीम दाइ कानुन मन्त्री हुनुहुन्थ्यो । २०५३ सालमा नेविसंघको महाधिवेश विराटनगरमा भएको थियो । हामी पाँच÷छ जना साथीहरु दोलखाको प्रतिनिधिको रुपमा विराटनगर जाँदै थियौँ । त्यतिखेर एनपी साउद नेविसंघको सभापति हुनुहुन्थ्यो । त्यहाँ जान हामी काठमाडौं आयौं । मलाई थाहा थिएन्, साथीहरुले भीभ दाइको क्वाटरमा पु¥याउनुभयो । उहाँलाई नजिकबाट भेटेको, कुरा भएको त्यो नै पहिलो पटक थियो । म त फुच्चे नै थिएँ । त्यति कुरा पनि भएन् । मन्त्री जस्तो मान्छे वास्ता पनि गर्नुभएन् होला । मन्त्री जस्तो व्यक्ति व्यस्त हुनु पनि स्वभाविक नै थियो । उहाँले गाडी खोजेर हामीलाई विराटनगर जाने ब्यवस्था मिलाइदिनु भयो ।
०५४ सालमा स्थानीय तहको चुनाव हुँदा म फुच्चे नै थिएँ । भीमेश्वर नगरपालिका वडाको चुनावमा स्थानीयहरुले उठ्न भन्नु भएको थियो । पहिलो नम्बरमा मेरो नाम नै सिफारिसमा परेको थियो । मेरो रहर पनि थियो । तर, पनि वञ्चित भएँ ।
मलाई राजनीति भनेको स्वच्छ हुनुपर्छ कमाईखाने भाँडो होइन भन्ने कुरा भीमबहादुर दाइको सादगी म प्रभावित थिएँ । मेरो सिद्धान्त पनि राजनीति लिनको लागि होइन दिनको लागि गर्नुपर्छ भन्ने थियो । २०५६ सालमा आर्थिक रुपमा सवल हुनुपर्छ भन्ने लागेर काठमाडौं फर्किएँ । म व्यवसाय गर्न थालेपछि राजनीतिमा भोटरको रुपमा मात्र सिमित भएँ ।
भीम दाईको त्यो फोन कल
भीम दाइको जीवन शैली देखेर आफू पनि त्यस्तै हुन मन लाग्थ्यो । उहाँ प्रति हृदय देखि नै श्रद्धाभाव थियो । एक दिन अपिसमा काम गर्दै थिएँ । नचिनेको नम्बरबाट फोन आयो । ‘कुलराज बाबु हो ? म भीमबहादुर तामाङ बोलेको’– उताबाट आवाज आयो । मलाई विश्वास नै लागेन्, आफूले सँधै मानेको मान्छेको फोन आयो भनेर । दुई तिन पटकको फोन संवाद पछि उहाँले भेट्न बोलाउनु भयो ।
एक दिन बिहान दाइलाई भेट्न उहाँको निवासमा गएँ । त्यहाँ सुनसान थियो । दाइ बगैँचामा फूल गोड्दै हुनुहुन्थ्यो । त्यतिवेला नेपाली कांग्रेस विभाजन भएको थियो । जिल्लामा पनि यसको प्रभाव परेका थियो । दोलखाका पुराना नेताहरु मध्ये उद्धवराज काफ्ले, माधवमणि राजभण्डारी मात्र संस्थापन पक्षमा हुनुहुन्थ्यो । देवी प्रसाद न्यौपाने, जीपसिरिङ लामा, रामजीवन सिंह, ताराबहादुर कोइराला (केही समय पछि नै संस्थापनमा फर्किनुभयो।) प्रजातान्त्रिक कांग्रेसमा हुनुहुन्थ्यो ।
नजिकै गएर दाइलाई जय नेपाल भने । ‘कहाँबाट आउनु भयो?’ अप्रत्यासित प्रश्न आयो । ‘दाइ म कुलराज ।’ हातमा रहेको कुटो त्यहीँ छाड्नु भयो । धुलो हातले मलाई समातेर कोठामा लैजानु भयो । कोठाको चित्र त्यस्तै थियो ।
दाइले लिफ टी दिनुभयो । लिफ टी खाने बानी पनि मलाई उहाँले नै दिनुभएको हो । ‘तपाईँ जस्तो मान्छे प्यासिभ भएर भएन् । एक्टिभ हुनुप¥यो,’ उहाँले भन्नुभयो । आफूले आदर्श मानेको ब्यक्तिबाट नै त्यस्तो भने पछि नमान्ने कुरै भएन् । उहाँसँग दैनिक जसो भेटघाट हुन थाल्यो । प्यासिभ भइसकेको मान्छे म फेरी एक्टिभ हुन थालेँ । नत्र म राजनीतिमा भोटर मात्र भएर बस्थेँ होला । दाइलाई नभेटेको भए अहिले पनि म राजनीतिमा भोटरमा हुन्थेँ होला । दाइले फेरी राजनीतिमा फर्काउनु भयो ।
विपीका सच्चा अनुयायी, निष्ठाका प्रतिमूर्ती
उहाँ विपिका सच्चा अनुयायी हुनुहुन्थ्यो । विपीलाई भेट्न नपाए पनि मैले विपीलाई बुझेको पनि उहाँबाटै हो । समाजवाद प्रति पूर्ण निष्टा, विपिको सिद्धान्तका व्याख्याकार उहाँ हुनुहुन्थ्यो । सिद्धान्तलाई अहिलेका नेताहरुले रद्धीको टोकरीमा फालेका छन् । युवा नेताहरुको चरित्र हेर्नुहोस् आफै थाहा पाउनुहुन्छ । आश गरेका युवा नेताहरुको चरित्र कस्तो छ देख्नु भएकै छ । तर, उहाँ आस्था र निस्ठाको खम्बा हुनुहुन्थ्यो । जस्तो सिद्धान्त बोक्नु भयो जीवन प्रयत्न त्यस्तै जीवन यापन गर्नुभयो । पार्टी र देश उहाँको घर थियो ।
पार्टी र देशकै लागि घरवार त्याग्नुभयो । जेल पर्नुभयो । अहिलेका प्रधानमन्त्रीको बोली र ब्यवहार हेर्नुस् न, १४ वर्ष जेल बसेको भनिरहनुहुन्छ । उहाँ पनि जेल बस्नुभयो । जेलमै हुँदा श्रीमतीले उहाँलाई त्याग्नुभयो । तर पनि मैले यो त्याग गरेँ । मलाई यो चाहियो कहिल्यै भन्नु भएन् । तर, देशको लागि सोच्न कहिल्यै छाड्नु भएन् ।
राष्ट्रपति बन्ने प्रस्तावलाई लत्याउने नेता
पहिलो संविधासभामा गिरिजाप्रसाद कोइरालासमेत प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिक प्रणाली मार्फतसदस्य हुनु भएको थियो । भीम दाइ भने जनतामाझ गएर जनताको अभिमत लिएर आउँछु भनेर प्रत्यक्ष निर्वाचन रोज्नु भएको थियो । पराजित हुनुभयो । ‘जनताको छोरो हुँ जनताकै छोरो बनेर मर्छु’– उहाँको त्यस्तो विचार थियो । त्यतिवेला गिरिजाबाबुले भीमदाइलाई राष्ट्रपतिको लागि तयार हुन भन्नुभएको थियो । तर, उहाँले अस्विकार गर्नुभयो ।
दाइको दैनिकी कठिन नै थियो । दाइलाई ठूलो रकम सहयोग गर्न तयार हुनेहरु पनि थिए। त्यस्तो रकम उहाँले कहिल्यै लिनुभएन । मनले खाएका साथीहरुले मायाले सहयोग गर्नेहरुकै सहयोगले उहाँको दैनिकी चलेको थियो । अभाव खड्किँदा पनि उहाँले कहिल्लै मुख फोडेर माग्नुभएन् । दाई तपाईँलाई समस्या परेको हो? भनेर सोध्नुपथ्र्यो । उहाँको समस्या बुझेर सहयोग गर्नुपथ्र्यो ।
उहाँ जीवनभर वुद्ध जस्तै पात्र थापेर सादगी जीवन विताउनुभयो । तर हरामको कमाई कहिल्यै लिनु भएन् । उहाँलाई चाहिने भन्दा बेसी कसैले दिन्थ्यो भने पनि स्वीकार्नु भएन् । गलत नियतले दिइने सहयोग सँधै अस्वीकार गर्नुभयो ।
२०६२÷६३ को जनआन्दोलनमा पनि उहाँ सक्रिय रुपमा सहभागि हुनुभएको थियो । उहाँसँगै म पनि आन्दोलनमा सहभागि थिएँ । वैशाख १२ चक्रपथबाट गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ¥याली निस्किने तयारी भइरहेको थियो । त्यसलाई सहयोग गर्न भीम दाइ र म अघिल्लो दिन नै चुच्चेपाटीस्थित सिन्धुपाल्चोका एक जना स्थानीय नेताको घरमा बास बसेका थियौँ । तर, वैशाख ११ गते राजाले सम्बोधन गरेर संसद पुनः स्थापना गरिदिए । आन्दोलन स्थगित भएपछि हामी फर्कियौं ।
भीम दाइ तामाङको छोरो कहिल्यै जातिय मुद्दा उठाउनु भएन् । दोलखाको मान्छे कुनै एउटा भूगोलमा सिमित हुनु भएन् । उहाँ नेपालीको नेता नेपालको नेता हुनु भयो । सबै पार्टीका मान्छेले श्रद्धा गर्ने पार्टी हुनु भयो । जनजाति भएकै कारण कसैलाई च्याप्नु भएन् । जनजातिको सवालमा उहाँको एउटै नारा थियो– हामी रुख हौँ रुख नै रहनुपर्छ । हामी हाँगा–हाँगामा विभक्त भएर सिमित हुनु हुँदैन् । अलमलिनु हुँदैन् ।
६२÷६३ को आन्दोलनपछि जातिय नारा चरम उत्कर्षमा पुगेको थियो ।
कांग्रेसभित्र पनि यसको आवाज नआएको होइन । भीम दाइलाई जातिय मुद्दा व्यवस्थापनको जिम्मा दिइयो । उहाँले ‘जातियता पनि मेटिने पहिचान पनि भेटिने’ मुल सिद्धान्तमा रहेर प्रतिवेदन दिनुभएको थियो ।
शिक्षा र विकास प्रेमी नेता
उहाँ शिक्षा र विकास प्रेमी नेता हुनुहुन्थ्यो । २०१० सालमा श्रमदान जुटाएर दोलखाको झुलेस्थित हालको अमर माविको स्थापना गर्नुभएको थियो । दोलखामा धेरै विद्यालय उहाँकै पहलमा खुलेका हुन् । विदेशी सहयोगीहरुसँग त्यहाँका विद्यालयलाई चाहिने सामाग्री पनि उहाँले पटक पटक सहयोग गर्नुभयो । विद्यालयका भवनहरु बनाउन सहयोग गर्नुभयो । दोलखामा इन्जिनियरिङ विश्वविद्यालय स्थापना गर्ने उहाँको सपना थियो ।
दोलखामा अपर तामाकोशी जलविद्युत आयोजना बनाउनका सुरुवाती पहल उहाँकै हो । त्यतिबेला अर्थमन्त्री डा. रामशरण महत थिए । विद्युत प्राधिकरणको एमडी अर्जुन बहादुर कार्की थिए । उहाँकै पहलमा अर्थमन्त्री र विद्युत प्राधिकरणका प्राविधिक र पत्रकार सहितको टोली अपर तामाकोशीको बारेमा अध्ययन गर्न गएको थियो । अर्थमन्त्रीसहितको टोली हेलिकोप्टरमा गयो । भीम दाइ र म लगायत मन्त्रीको गाडीमा चरिकोट गएका थियौँ । त्यतिवेला खिम्तीमा पार्टीको कार्यक्रम थियो । अपर तामाकोशी पुगेर अर्थमन्त्री खिम्ती आउनु भयो । एक रात हामी दोलखाको तिखातालमा वितायौँ । अर्को दिन हामी अर्थमन्त्री भीम दाइसहित मन्त्रीकै गाडीमा पर्कियौँ ।
छाप्न नसकेको त्यो आत्मकथा
५९ साल देखि उहाँको र मेरो पारिवारिक सम्बन्ध थियो । उहाँले मलाई धेरै राजनीतिक भेटहरुमा पनि सहभागि गराउनु भएको थियो । गिरिजा प्रसाद कोइरालासँगको वान टु वान छलफलमा समेत सहभागि गराउनु भएको थियो । उहाँ मेरो राजनीतिक अभिभावक मात्र हुनुहुन्थेन परिवारकै सदस्य हुनुभएको थियो । बेलाबेलामा हामी घरमा सँगै खाना खान्थ्यौँ ।
उहाँको सादगी जीवन पछिल्लो पीडिसम्म पु¥याउनुपर्छ भन्ने लागेका थियो । उहाँ आत्मकथा छाप्नुपर्छ भन्ने लागेका थियो । उहाँ त्यसका लागि तयार पनि हुनुहुन्थ्यो । पत्रकार भोजराज न्यौपाने र म त्यसको तयारीमा थियौं । तर, लेखन सुरुवात नहुँदै उहाँ संसार छाडेर जानुभयो ।
फूलका सौखिन हुनुहुन्थ्यो भीम दाइ । सुनाखरी फूल कसैले सुनगाभा भन्लान कसैले अर्किड । सुनाखरीको विशेषता यौ पचासौं वर्ष सम्म फूलिराख्ने ।
सिम्बिडियम सुनाखरीको सुवास र सौन्दर्यलाई चीनका महान् दार्शनिक कन्फ्यूसियसले पनि २५ सय वर्ष अगाडि प्रसंसा गरेका थिए । जुन इतिहासमा अहिले पनि भेटन सकिन्छ । फूलका सौखिन भीम दाइले दार्जालिङबाट सुनाखरी ल्याएर गमलामा रोप्नु भएको थियो । त्यो अझै पनि होला । रुखको हाँगामा उम्रिने परजीवि सुनाखरी ठूलो गमलामा काठको धुलो, सडेका मुढाहरु हालेर हालेर रोप्नु भएको थियो । त्यही सुनाखरीको गाभा मलाई पनि दिनुभएको थियो । अहिले मेरो घरको गमलामा फूलिरहन्छ । परजीवि भइकन पनि कसैलाई हानी नगर्ने सुनाखरी सुवास छरेर सबैलाई मोहित पार्छ ।
भीम दाइ नेपाली राजनीतिका सुनाखरी हुनुहुन्छ । कसैलाई जीवनभर हानी पु¥याउनु भएन । जीवनभर समाजको भलो चिताएर देश र जनताका लागि काम गर्नुभयो । उहाँको सादगी पनि समाजवाद प्रतिको आस्था, त्याग पचासौँ वर्षसम्म पनि सुनाखरी जस्तै नेपाली राजनीतिमा फूलीरहने छ । उहाँको त्याग सादगीलाई नेपाली राजनीतिक नेताहरुले भावी सन्ततीले आत्मसाथ गर्दै अगाडि बढ्न आवश्यक छ ।








