चितवनमा “डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने मूल नारासहित आयोजना गरिएको अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ लक्ष्यअनुसारको आर्थिक कारोबार गर्दै औपचारिक रूपमा सम्पन्न भएको छ। चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा सञ्चालन भएको उक्त एक्स्पो समापन कार्यक्रममा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले स्वागत मन्तव्य व्यक्त गर्दै एक्स्पो सफल बनाउन सहयोग गर्ने सबै निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। राष्ट्रिय गाई प्रदर्शनी सफलतापूर्वक सम्पन्न गर्न सहजकर्ताको भूमिका निर्वाह गरेका राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम, रामपुरका डा. यज्ञराज पाण्डेलाई सम्मान गरिएको थियो। त्यसैगरी, प्रदर्शनी अन्तर्गत आयोजना गरिएका वक्तृत्वकला, डेरी हाजिरीजवाफ, राष्ट्रिय गाई प्रदर्शनी लगायतका कार्यक्रममा माडी नगरपालिका क्षेत्रबाट प्रभावकारी सहभागिता गराउन समन्वय गरेकोमा माडी नगरपालिकालाई सम्मान गरिएको थियो। प्रदर्शनीको शुभारम्भ तथा समग्र कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भागीरथ तिमिल्सिनालाई पनि सम्मान प्रदान गरिएको थियो।
समापन कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. हसना श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सहसचिव डा. शरण पाण्डे, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल तथा केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष अम्बर बहादुर कुँबरले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। उहाँहरूले डेरी क्षेत्रको दिगो विकास, प्रविधिको प्रयोग र बजार विस्तारमा यस्ता प्रदर्शनीले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
करिब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य राखिएको एक्स्पोमा अपेक्षाअनुसार आर्थिक कारोबार भएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदर्शनीले डेरी उद्योगसँग सम्बन्धित व्यवसाय, प्रविधि, उत्पादन र बजार प्रवर्द्धनमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
प्रदर्शनी अवधिभर मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, डेरी उद्यम तथा कृषकसँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुति सहितको प्यानल छलफल, राष्ट्रिय गाई प्रदर्शनी, दुग्ध क्षेत्रसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता तथा कृषकहरूसँग बीटुबी मिटिङ जस्ता कार्यक्रम उत्साहपूर्ण सहभागितासहित सम्पन्न गरिएका थिए। अध्यक्ष बगालेका अनुसार यस्ता गतिविधिले कृषक, उद्यमी र नीति–निर्माताबीच समन्वय र सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
अन्तर्राष्ट्रिय डेरी एक्स्पो सफल बनाउन नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्ड मुख्य प्रवर्द्धक तथा सह–आयोजकका रूपमा रहेका थिए। हेफर इन्टरनेशनल नेपाल, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी एशोसियसन लगायतका संस्थाहरूले सहयोग गरेका थिए। साथै, नेपाल उद्योग परिसंघ र केन्द्रीय दुग्ध सहकारी संघ संरक्षक संस्थाका रूपमा रहेका थिए भने आईटी पार्टनर टुना टेक्नोलोजी र इन्टरनेट पार्टनर वर्ल्डलिङ कम्युनिकेशन प्रा.लि.ले प्राविधिक सहयोग प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन संघका सचिव कल्याण अधिकारीले गर्नुभएको थियो भने अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्यसहित एक्स्पोको औपचारिक समापन गर्नुभएको थियो।








