चितवन । आरम्भ कलेजले आयोजना गरेको तीन दिने अनुसन्धान विधि (रिसर्च मेथोडोलोजी) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चार वर्षे सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका बिएचएम तथा बिआइटीएम कार्यक्रमलाई समेट्दै कलेजले उच्च शिक्षा र अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्यले यो तालिम आयोजना गरेको हो। युनिभर्सिटी ग्रान्ट कमिसनको सहयोगमा सम्पन्न कार्यक्रममा १५ भन्दा बढी निजी तथा सामुदायिक शैक्षिक संस्थाहरूको सहभागिता रहेको थियो। साथै विभिन्न विषयका प्राध्यापक, अनुसन्धानमा रुचि राख्ने विद्यार्थी तथा अनुसन्धानकर्तासहित ३५ भन्दा बढी सहभागीहरूको सक्रिय उपस्थिति देखिएको थियो।
तालिमका क्रममा अनुसन्धानको आधारभूत अवधारणा, समस्या पहिचान, प्रस्ताव लेखन, तथ्यांक संकलन तथा विश्लेषण, प्रतिवेदन लेखन र अनुसन्धान नैतिकतासम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा स्रोत व्यक्तिका रूपमा एसोसिएट प्रोफेसर डा. हरिप्रसाद अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. गोविन्द ढुङ्गाना र डा. गुणराज क्षेत्रीले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्राचार्य सुरज शिवाकोटीले अनुसन्धान क्षमताको विकासका लागि यस्तो कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताउनुभयो। समापन समारोहमा प्रमुख अतिथिले अनुसन्धानलाई ज्ञान, नवप्रवर्तन र सामाजिक विकासको आधार मान्दै यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा प्रशिक्षकहरूलाई सम्मानपत्र तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिम उपयोगी, व्यवहारिक र ज्ञानवर्धक रहेको प्रतिक्रिया दिएका छन् भने आयोजकले सहयोगी सबै पक्षप्रति आभार व्यक्त गरेको छ।








