काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन आग्रह गरेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेर प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरेका हुन् । ‘अहिले तपाईँले मविरुद्ध पेश गरेको आरोपपत्र फिर्ता लिनुहोस्। समस्या समाधान हुन्छ’ प्रधानमन्त्री ओलीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । उनले सहमतिमा अगाडि बढ्न पनि आग्रह गरेका थिए । तर, कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको आग्रहलाई अस्विकार गर्दै बैठकमा प्रस्ताव पेश भइसकेकाले अब बैठकबाटै टुङ्गाउने बताएका थिए । ‘मैले अब आफ्नो प्रस्ताव फिर्ता लिने स्थिति छैन । पार्टीभित्र यसबारे छलफल पक्का हुनुपर्छ । जे गर्ने हो, बैठकबाटै गरौं, भोलीको बैठकमा आउनुहोस् ।’ आइतबार स्थायी कमिटी बैठक डाकिएको छ । दुई अध्यक्षबीच छलफल भइरहँदा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी भएका थिए । त्यसपछि प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा बादलसित भेटवार्ता गर्न पुल्चोक पुगेका थिए । गृहमन्त्री बादलसँगको भेटवार्ता चलिरहँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ पनि छलफलमा सहभागी हुन पुगेका थिए।








