काठमाडौं । नेपाली कांग्रेसले अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर सो आह्वान गरेको हो । साथै, सो सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रहसमेत गरिएको छ । जारी विज्ञप्तिमा शर्माले भनेका छन्, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरू, सबै राजनीतिक दल, संघ(संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ ।’ उनले विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको बताउँदै त्यसलाई असफल तुल्याइने पनि भनेका छन् ।









