काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले जनताको माझमा गएर जनसंघर्ष गर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओली सरकारको कदमविरूद्ध जनसंघर्ष गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने बताएका हुन्। केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै सोमबार यस्तो बताएका हुन्। उनले तीन लाख सक्रिय सदस्य बनाउने योजना सुनाएका थिए। थापाले सक्रिय सदस्यहरूबाट प्रतिनिधि हुने गरी महाधिवेशन सम्पन्न गर्ने पनि बताए। पछिल्लो घटनाक्रम, भावी रणनीतिका साथै सांगठनिक र सक्रिय सदस्य निर्देशिका, महाधिवेशनको तयारी, निर्वाचन निर्देशिका, निर्वाचन कार्यतालिका र आगामी संघर्षका कार्यक्रमबारे बैठकमा छलफल हुने केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए। बैठकमा अध्यक्षत्रय थापा, डा। प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले प्रतिवेदन पेश गर्नेछन्।








