चितवन । सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा महिला बालबालिकामाथि हुन सक्ने यौनजन्य दुव्र्यवहार न्युनिकरण गर्न सेफ्टी पिन अभियान सुरु भएको छ । यसै सम्बन्धी हामीले जिल्ला प्रहरी कार्यालय महिला सेल प्रमुख प्रबिना गिरी लाई यो सेफ्टी पिन अभियानको बारेमा थप पुष्टी गरेका छौं । उहासँग गरेको कुराकानी जस्ताको तस्तै ।
यो सेफ्टि पिन अभियान कस्तो अभियान हो ?
“सार्वजनिक स्थल र सार्वजनिक सवारीसाधनमा महिला तथा बालबालिकामाथि हुन सक्ने यौनजन्य दुव्र्यवहार विरुद्धको विशेष अभियान नै सेफ्टी पिन अभियान हो । सार्वजनिक यातायातमा महिलाहरुप्रति हुने यौनजन्य दुव्र्यवहारहरु, हिंसाजन्य गतिविधिहरु लगाएत हिंसा आशयका गतिविधिहरुलाई नियन्त्रण गर्न र संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्नका लागि यो अभियान संचालन गरिएको हो ।
साथै महिलामाथीको हिंसालाई लुकाएर राख्न हुँदैन, यसलाई बाहीर ल्याउनुपर्छ र कानुनको दायरामा ल्याउनु पर्छं भन्ने जागरणका लागि पनि यसको आवश्यकता महसुस भएको हो । सारांशमा भन्नुपर्दा यसका मुख्य दुइटा उद्देश्यमध्ये एउटा अपराध गर्नेलाई कानुनको दायरामा ल्याएर नियन्त्रण गर्ने र अर्को यस्ता घटना सहेर बस्नु हुँदैन, रिपोटिङ गर्नुपर्छ जागरुप हुनुपर्छ सबै भनेर जनचेतना फैलाउने रहेको छ ।
यो अभियान कसरी सुरु भयो ?
प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभाग अन्वेषण तथा योजना शाखा नक्शालद्वारा सार्वजनिक स्थल र सार्वजनिक सवारीसाधनमा महिला बालबालिका र किशोरीमाथि हुने यौनजन्य हिसां अन्त्य गर्ने विशेष अभियान स्वरूप आएको हो । यति मात्र नभई महिलाहरुले सार्वजनिक यातायातमा सुरक्षित र मर्यादापूर्ण तवरले यात्रा गर्न पाउन भन्ने उद्देश्यले यो अभियानको सुरु भयो ।
सार्वजनिक सवारीमा महिलाहरुमाथि कस्ता कस्ता यौनजन्य हिँसाहरु हुने गरेका रहेछन् ?
यसमा हामीले विस्तृत र लामो समयसम्म सर्वे गरेर होइन, सूचनाको आधारमा खोजी गर्दा साँचो ठहरिएपछि अगाडि बढाएका हौं । जहाँसम्म महिलाले भोग्ने गरेका हिँसाजन्य घटनाहरु छन् त्यसमा यात्रा गर्ने महिलाहरुको शरीरमा अनावश्यक टाँसिन जाने, संवेदनशील अंगहरु छुन खोज्ने, प्रत्यक्ष अप्रत्यक्ष रुपमा अश्लिल शब्दहरु बोल्ने, होहल्ला गर्ने जस्ता कार्यहरु बढि मात्रामा देखिएका छन् ।
सेफ्टी पिन अभियानबाट महिलाहरुले कसरी राहत पाउँने गरेका छन् ?
शुरुमा हामीले अध्ययन गर्यौं । त्यसपछि योजना बनायौं र त्यसपछि यो अभियानमा प्रहरी एक्लैले मात्रै सम्भव नभएकोले सरोकारवाला अन्य निकायहरुसंग समन्वय गर्यौं । सबैसंगको छलफलबाट यस अभियानलाई दुइवटा तरिकाबाट लैजाने सोचमा पुग्यौं । पहिलो प्रचारात्मक अथवा जनचेतना फैलाउने किसिमका कार्यक्रमहरु गर्ने, जसअन्र्तगत आम संचारका माध्यमहरु लगाएत प्रहरीको आफ्नो मिडियाहरुबाट र बिभिन्न सामाजिक सञ्जालहरुबाट यस कार्यक्रमको बारेमा जानकारी गराउने योजना बनायौं ।
त्यसमा सामुदायीक प्रहरी र महिला सेल, जिल्ला ट्राफिक प्रहरी सरोकारवाला अन्य संस्थाहरु समेतलाई बोलाएर सूचनामुलक ब्यानर सहित चितबनका मुख्य बसपार्कहरुमा प्रचारात्मक कार्यक्रम गर्ने कुरा तय भयो । प्रचारात्मक कार्यक्रम अन्तर्गत नै महिला हिँसा बिरुद्धका नारा लेखिएको स्टिकरहरु सार्वजनिक सवारी साधनहरु लगाएत बिभिन्न सार्वजनिक स्थानहरुमा टास्ने काम पनि भएको छ । त्यसलाई अपे्रसनल हिसाबले गर्नुपर्छ भनेर एक जना महिला सहित तीन जनाको सादा पोसाकको प्रहरी टोली सार्वजनिक यातायातहरुमा पठाउने छौं । टोली सवारी साधनमै हुन्छ र हिँसा गरेको भेटिए त्यहीनेर कारवाही शुरु हुन्छ । त्यसका लागि यातायात व्यवसायीसंग समन्वय गरेका छौं ।
यो एउटा सामाजिक अभियान भएकोले यसमा सबै क्षेत्रको सहयोग जरुरी पर्ने हुँदा सरोकारवाला सबै निकायहरुसंगको छलफलपछि हाम्रो अप्रसन शुरु हुने छ ।
महिला हिँसा पर्चा, पम्पलेटिङ् र प्रचारले मात्रै रोकिएलान् ?
दीगो र प्रभावकारी योजना बनाउनुपर्दैन ? खासगरी सार्वजनिक यातायातको सवारीमा सचेतना नै मुख्य कुरा भएकोले त्यसमा नै पहिलो जोड दिइका छौं । यातायातका प्रतिनिधिहरुसँग कुरा गरेर सम्भव भएसम्म प्रत्येक गाडीका चालक सहचालकलाई प्रशिक्षण गराउने व्यवस्था गरिदिनुहोला भनेका छौं । उहाँहरुले प्रयास गर्छौ भन्नु भएको छ ।
हरेक सार्वजनिक सवारी साधनमा प्रहरी टोली खटाउन सम्भव छ ? यो अभियान पनि कतै लोकपृयताका कमाउन त हैन नि ?
सबै सार्वजनिक सवारी साधनहरुमा प्रहरी टोली खटाउन त जनशक्तिको कारणले सम्भव नहुँदो रहेछ ।तर यस्को बाबवाजुत पनि चितवन जिल्लामा संचालनमा रहेका सार्वजनिक सवारीसाधन र सार्वजनिक स्थानहरुमा जिल्ला प्रहरी कार्यालय चितबनका प्रहरी कर्मचारीहरु सादा पोसाकमा प्रतेक हप्ताको दुई दिन जिल्ला संचालित सवारीसाधनहरुमा स्टिग अप्रेसनमा खटिने गरेका छन् । आम मानिसहरुमा जनचेतना जगाउनु नै मुख्य कुरा भएकोले पहिलो चरणमा चितबनका सबै बसपार्कहरुमा जनचेतनामूलक कार्यक्रम गर्ने र सार्वजनिक सवारी चालक, सहचालक लगायतलाई सुसुचित गराउदै यात्रुहरुलाई सचेत गराउने हिसावले अगाडि बढ्ने सोचेका छौं ।
सार्वजनिक यातायातमा यौनजन्य दुव्र्यवहार गर्ने व्यक्तिलाई कस्तो कारवाही हुन्छ ?
अपराधको गाम्भिर्यता अनुसार कारवाही हुन्छ । महिला तथा वालबालिका बिरुद्धको अपराधमा पनि त्यसलाई बिभाजन गरेका छौं, सार्वजनिक ऐन मुलुकि अपराध स्मयिता ऐन २०७४मा व्यवस्था भएअनुसार कार्वाही गरिने छ । त्यसैले सानातिना अपराधहरुलाई सार्वजनिक अपराधको रुपमा अगाडी बढाउँछौं र अपराधको प्रकृति हेरी अन्य शिर्षकमा मुद्धा चलाउँछौं ।
सेफ्टी पिन अभियान पनि त्यस्तै त होइन ?
यो आफैमा एउटा गम्भिर अपराध हो । महिला माथीको हिंसा भनेपछि सरकारले र सिँगो नेपाल प्रहरी संगठनले पनि गम्भिर रुपमा लिएको छ । त्यही अनुसार हाम्रो हेडक्वार्टरमा पनि महिला तथा वालवालिका हेर्ने सेल छुट्टै छ । जिल्ला प्रहरी कार्यालय चितबन जिल्ला ट्राफिक कार्यालय महिला तथा बालबालिका सेल ईलाका प्रहरी कार्यालय सबै मिलेर कार्य गर्ने छौ ।
यस अभियानमा कुन कुन क्षेत्रको सहयोग आबशयक छ ?
धेरै छन् , जिल्ला प्रहरी कार्यालयको सामूदायिक प्रहरीको भूमिका बढी महत्वपूर्ण रहन्छ । त्यस्तै यातायात कार्यालयहरुले अप्रेसनमा खटिने टोलीका लागि पास दिएर मात्रै सहयोग गर्नुभएको मात्रै छैन कि सवारी चालक तथा सहचालकलाई सजग गराउने, उहाँहरुका तर्फबाट पनि त्यस्तो नहोस् र त्यस्तो किसिमको गतिविधिहरु आफ्नो सवारी साधनमा भयो भने तुरुन्तै प्रहरीलाई खवर गर्नुहोस् भनेर पनि हामीले अनुरोध गरेका छौं त्यसमा पनि सहयोग रहने अपेक्षा गरेका छौं । यो अभियानबारे ब्यापक जानकारी गराउन एसएमएस अनलाइन टेलिभिजन मार्फत सन्देश प्रवाहका लागि सञ्चार सस्थासँग कुरा गरेका छौं । उहाँहरुले आ आफ्नो संचार माध्यमबाट यस अभियानका बारेमा सचेतनामूलक सामाग्रीहरु प्रचार प्रसार गरी आम नागरिकलाई सुसुचित गराउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।
त्यसैगरी महिला हिंसाको बिरुद्धमा काम गरिरहेका संघ संस्थाहरुसंग पनि विशेष गरी सचेतनामूलक कार्यक्रमहरुमा सहभागीताको लागि आग्रह गरेका छौं ।”








