चितवन । भरतपुर कोरोना नियन्त्रण कार्यदलले भरतपुर कोरोना अस्पतालमा चोरी भनिएको प्रकरणको बचाउँ गरेको छ । कार्यदलले आज एक विज्ञप्ती जारी गर्दै कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा नभएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउँ गरेको हो । कार्यदलका सदस्य सचिव डा.भोजराज अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले संचालन गर्ने सहमति पश्चात सम्पूर्ण अस्पतालको बरबुझारतथ गर्नु पर्ने भएकाले एकै ठाउँमा रहेका स्टोरलाई व्यवस्थित गरिएको हो ।’
यस्तै कार्यदलले सामग्री ओसारपसार स्टोर गर्ने समय प्रक्रियाको सिसिटिभी फुटेज लिक भएकोप्रति कार्यदल गम्भिर हुँदै तीन सदस्यी छानविन समिति गठन गरिएको जनाएको छ । कार्यदलको बैठकले घटना बारे छानविन गर्न कार्यदलका सदस्य एवंम चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरिएको र टोलीको प्रतिवेदन सार्वजनिक गरिने जनाएको छ ।
यस्तै कार्यदलले विपत्ती सामना गर्न ७२ घण्टामा अस्पताल तयार गरिएको भन्दै खरिद प्रक्रिया प्रचलित कानूनमा रहेर गरिएको दावी गरेको छ ।








