नवलपुर । नारायणगढ – बुटवल सडकखण्ड विस्तारको क्रममा गैंडाकोटमा बनाइएको डाइभर्सन बगाउँदा बिहीबार विहानदेखि यातायात अवरुद्ध भएको छ । गैंडाकोट र भेडाबारी बीचमा रहेको डाइभर्सन बगाएको हो । राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन बगेपछि गाडी वारपार गर्न सकेका छैनन् । सवारीको लामो जाम लागेको छ । यस वर्ष असारको सुरुकै दिनदेखि लगातारजसो पानी परिरहेको छ । पानी परेपछि डाइभर्सनमा पानी जम्ने खाल्डाखुल्डी बन्दा एकातिर यात्रुले सास्ति पाएका छन् ।
भने , अर्कोतिर दुर्घटनाको जोखिम बढाएको छ । अत्यावश्यकीय साधनलाई समेत सडकको अवस्थाले कुनुपर्ने बाध्यता रहेको छ । वैकल्पिक मार्ग समेत निर्माण हुन नसकेको र डाइभर्सन गहिरो गरी बगाउँदा बाटो बन्न सकेको छैन । प्रहरीले एम्बुलेन्स लगायतका साना सवारीलाई पार गराउन डाइभर्सन बगाएको तलबाट अस्थायी डाइभर्सन गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । बगाएको डाइभर्सन तत्कालै बन्ने अवस्था नभएको उहाँ बताउनुहुन्छ ।
पानी नरोकिएमा अझै बढि समस्या हुने उहाँको भनाई छ । पानी रोकिएमा शुक्रबार साँझसम्म बन्ने उहाँको भनाइ छ । अस्थाई डाइभर्सन बनाएर साना सवारी वारपार गराए पनि ठूला सवारी भने भत्किएको डाइभर्सन बनन्दासम्म ठप्प हुने भएको छ । स्थानीयलाई डाइभर्सन बगाएको तलबाट शसस्त्र प्रहरीले वारपार गराउने काम गरिरहेका छन् । प्रहरीले सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर गैंडाकोट र रजहरमा सवारीलाई रोकेर राखेको छ ।
यस अघि असार दुई गते पनि सोही ठाउँमा डाइभर्सन बगाउँदा ५ घण्टासम्म पूर्ण रुपमा जाम भएको थियो । गैंडाकोटको थुम्सि जंगल क्षेत्रमा ४ ठाउँमा डाइभर्सन छन् । कुमुन्दपुर र थुम्सिको बस्ति नजिकै दुई वटा गरेर ७ वटा डाइभर्सन बनाईएको छ । वर्षा सुरु भएपछि डाईभर्सनमा पानी जम्ने , चिप्लो हुने गर्दा दैनिक रुपमा काम विशेषले आवतजावन गर्ने यात्रुले सास्ति भाग्नुपरेको गुनासो गर्दै आएका छन् । यसैगरि दाउन्ने क्षेत्रको ठाउँ – ठाउँमा खसेको पहिरोले समेत दुर्घटनाको जोखिम निम्त्याएको छ ।
वर्षाका कारण दाउन्ने क्षेत्रको १४ किलोमिटर क्षेत्रमा ठाउँ – ठाउँमा साना ठूला पहिरो खसेको छ । कतिपय ठाउमा ठूल्ठूला ढुङ्गा भिरबाट कतिवेला खस्छ भन्ने त्रासै त्रासमा यात्रुले यात्रा गर्नु परेको छ । ठाउँ – ठाउँमा खसेको पहिरोले गर्दा पटक – पटक जाममा पर्दा यात्रुले सास्ति भोग्नु परेको गुनासो गरेका छन् । साघुँरो सडक जाममा परेर गाडी रोकिदा पनि कतिवेला माथीबाट पहिरो खसेर ज्यानै लिने हो भन्ने चिन्ताले सताउने गरेको यात्रु गुनासो गर्छन् ।








