काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बजेटले देशको अवस्थालाई सम्बोधन नगरेको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले बजेट सामान्य अवस्था जस्तै सोचेर ल्याइएको भन्दै कोरोनाबाट परेको प्रभावलाई सम्बोधन नगर्ने दाबी गरे । देश जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यसको गम्भीरतालाई बजेटले नजरअन्दाज गरेको भन्दै उनले कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारको प्राथामिकतामा नपरेको टिप्पणी गरे । स्थिर सरकारले राज्यलाई दीर्घकालीन महत्व राख्ने नीति ल्याउन नसकेको, सामान्य सरकारले जस्तै काम गरेको भन्दै सिंहले भने, ‘यो सरकारले ल्याएको यो तेस्रो बजेट हो । तर जनमत अनुसार प्रशासनिक सुधार, संरचना सुधारका कार्यक्रम आएन । दम नै नभएको सरकार जस्तो देखिएको छ । दीर्घकालीन सुधारका कुनै कार्यक्रम नै ल्याएको छैन ।’ यसैगरी राजपा नेता राजेन्द्र महतोले बजेटमाथि टिप्पणी गर्नु नै बेकार भन्दै सत्तामा रहेकाहरुलाई पक्ष पोषण गर्न मात्र बजेट आएको टिप्पणी गरे । राज्यको चरित्रअनुसार बजेट आएको भन्दै महतोले निरन्तरता बाहेक केही नभएको बताए । उनले सत्ताधारीहरुले आफूलाई विजेता, आफू मालिक अरु भिखारी भन्ने प्रवृत्ति बजेटमा पनि देखाएको भन्दै औपनिवेशिक जस्तै बजेट आएको आरोप लगाए । सरकारले भोकले कोही मर्दैन भने पनि दिनदिनै नागरिक मर्न थालेकामा सरकारको ध्यानाकर्षण गराए ।








