चितवन । जिल्ला प्रशासन कार्यालय,चितवनले अब थपिने निशेधाज्ञालाई कडा पार्ने भएको छ । जारी लकडाउन केही कडाई गरेपनि कोरोना संक्रमण र मृत्युदरमा कमी नआएपछि कडा निशेधाज्ञा लागु गर्न लागेको हो । ‘अब हुने निशेधाज्ञा कडा हुन्छ , कडा पार्नुपर्छ । मानिसहरुको गतिविधिमा कमी भएन ।
ठप्प पार्नुपर्ने अबस्था आयो ।’प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने । उनका अनुसार विभिन्न क्षेत्रबाट सुझाव संकलन र संक्रमितको दर , मृत्युदरको बारे अध्ययन भईरहेको र सोही अनुसार मोडालीटीमा परिवर्तन गरिने छ । बढी भीडभाड हुने क्षेत्र र जोखिम स्थानको पहिचान गरेर कडा भन्दा कडा निशेधाज्ञा लागु गरिने लामिछानेले बताए ।
सार्वजनिक यातायात, सरकारी कार्यालय, तरकारी बजार, वित्तिय संस्था लगायतका साना ठूला व्यवसाय बन्द गरिने उनले संकेत । ‘मानिसहरु लापरवाही , वेवास्ता ,हेल्च्यांँक्राई गर्न थाले । मान्छे सचेत पनि भएनन । टेरेनन । कडा गर्नुको विकल्प रहेन ।’ लामिछानेले भने । हाल भदौ महिनासम्म कडा निशेधाज्ञा गरेर संक्रमणदर कम भए दशैंतिहार जस्ता चार्डपर्वमा खुकुलो गर्न सकिने उनको भनाई छ ।
सरकारी संयन्त्रको एकल प्रयासले मात्र कोरोना संक्रमण कम नभएको भन्दै नागरिक सचेत र होशियारी नअपनाएसम्म संक्रमण कम नहुने उनले बताए । जारी निशेधाज्ञा साउन ३२ गते सकिंँदैछ ।








