बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रूपन्देहीको देवदह नगरपालिका-७ घोडाहस्थित पूर्व-पश्चिम राजमार्गको पक्की पुल भासिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेका अनुसार पुल भासिएसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् ।
सोही सडकखण्डको बर्दघाट–बुटवल क्षेत्रमा रहेको ३ वटा डाईभर्सन पनि बाढीले बगाएको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ, रोहिणी, कन्चन, कपिलवस्तुको वाणगंगामा जलसतहभन्दा माथि बाढी आएको छ ।
साथै, रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ । वर्षा नरोकिएकोले मर्मत गर्न नसकिएको प्रहरीले जनाएकाे छ ।








