चितवन । भरतपुरबाट हवाई सेवा प्रयोग गरि बाहिरिने यात्रुको चाप घट्दै गएको छ । काठमाडौं, पोखरा र भैरहवाबाट चितवन भित्रिने यात्रुको चाप बढ्दै गएपनि बाहिरिने यात्रु भने घटेका हुन् । दसैंँ मनाउन चितवन भित्रिने यात्रु बढ्दै गएको र बाहिरिने यात्रुको संख्या घट्दै गएको भरतपुर बिमानस्थलले जानकारी दिएको छ । ‘एक सातादेखि बाहिरबाट आउने यात्रुको संख्या बढेको छ ।
चाड पर्वको समयमा बाहिरबाट व्यवसायी, विद्यार्थी र विभिन्न क्षेत्रका कर्मचारीहरु चितवन आउने गरेका छन् । आसपासका जिल्लाका यात्रु पनि बढेका छन्, विमानस्थलका प्रमुख योगेन्द्र कुवँरले भने, हाललाई जिल्ला बाहिर जाने भन्दा भित्रिने यात्रु बढी छन् ।” काठमाडौं, पोखरा र भैरहवाबाट दैनिक ६ सय भन्दा बढी यात्रु चितवन भित्रिने गरेका छन् । अहिले औसत चितवनबाट दैनिक करिब चार सय जना यात्रु बाहिरिने गरेका छन् । काठमाडौंबाट चितवन आउने यात्रु बढेसँगै बुद्ध एयरले उडान थप गरेको छ ।
यसअघि वुद्धको दैनिक १० उडान हुने गरेकोमा अहिले १३ उडान हुने गरेका छन् । त्यस्तै बुद्धले भरतपुरबाट पोखरा र भैरहवाका लागि एक एक वटा उडान भर्दै आएको छ । हरेक दसैंँको टीकाको भोलिपल्ट भने जिल्ला बाहिरिने यात्रुको चाप बढ्ने गर्दछ । यसअघि बुद्ध एयरका इन्चार्ज भक्त बहादुर बस्नेतका अनुसार भरतपुरबाट काठमाडौंको भाडा घटेर दुई हजारदेखि दुई हजार चार सयसम्म कायम भएको थियो । यस अघि बुद्धको भरतपुर काठमाडौं भाडा तीन हजार पाँच सय ७५ कायम थियो । यता, गुण एयसलायन्सले पनि काठमाडौंबाट भरतपुरतर्फका यात्रुको चाप बढेका कारण दैनिक तीनवटा उडान भर्ने गरेको एयरलायन्सका बजार व्यवस्थापक कुलराज शर्माले जानकारी दिए ।








